अन्तराष्ट्रिय बजारको लागि एमएसएम इन्टरटेन्मेन्टले किन्यो पुजार सार्की


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ माघ

चलचित्र ुपुजार सार्कीुको अन्तर्राष्ट्रिय वितरण अधिकार बिक्री भएको छ । यो चलचित्रको पोस्टर (फस्ट लुक्स) रिलिज पछि प्राप्त प्रतिक्रियाले उत्साहित कम्पनी एमएसएम इन्टरटेन्मेन्टले यसको नेपाल बाहेकको थियट्रिकल रिलिज अधिकार उच्च मूल्यमा किनेको छ ।

चलचित्रका निर्देशक दिनेश राउतले सो कम्पनीले उच्च मूल्यमा खरिद गरेको दाबी गरे । उनले कति रकममा बिक्री भएको हो भन्ने बारे गोपनीयताको सम्झौताको कारण देखाउँदै खुलाउन चाहेनन् । उनले भने,‘हाम्रो चलचित्र ुपुजार सार्कीुको फर्स्ट लुक पोस्टर प्रति दर्शकहरू तथा चलचित्रकर्मीहरूले देखाउनु भएको सकारात्मक प्रतिक्रियाले थप हौसला मिलेको छ । हामी कृतज्ञ छौँ । साथै, नेपाली चलचित्रको बजारलाई बिस्तार गर्ने उद्देश्यका साथ प्रवासमा बस्दै आउनु भएको नेपालीहरूको समूहले स्थापना गर्नु भएको कम्पनी एमएसएम इन्टरटेन्मेन्टलाई सम्पूर्ण अधिकार दिएको जानकारी गराउन चाहन्छौँ ।’

यस चलचित्रमा अभिनेता प्रदीप खड्का, आर्यत सिग्देल, पल शाहसहित अभिनेत्री द्वय अन्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा अभिनय गर्दैछन् । बराइलीले यसअघि चलचित्र ‘महापुरुष’मा अभिनय गरेकी थिइन् । परिक्षाले ‘जारी’ र ‘छक्का पन्जा ४’मा अभिनय गरेकी छन् । साथमा, मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको अभिनय रहनेछ ।

अभिनेता त्रय आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहले एकसाथ अभिनय गर्न लागेको यस महत्त्वाकाङ्क्षी चलचित्रको फर्स्ट लुक पोस्टर आइतबार सार्वजनिक गरिएको थियो । पोस्टर सार्वजनिकसँगै चलचित्र युनिट मङ्गलवारदेखि हुने छायाङ्कनको लागि आइतबार कास्की जिल्लाको कास्कीकोट गाउँ पुगेको छ । निर्देशक राउतले यो चलचित्रलाई जातीय विभेद विरुद्ध समाजका तीन पात्रहरूले गर्ने साझा सङ्घर्षको कथा रहेको बताएका छन् । यो चलचित्रलाई विकास सुवेदीले लेखेका छन् । यसअघि विकास र दिनेशले चलचित्र ुप्रकाशुमा सहकार्य गरेका थिए ।

चलचित्रलाई सङ्गीतकार सुवास भुसालले निर्माण गर्दैछन् । एक दर्जन चलचित्रमा सङ्गीत दिएका भुसालले पहिलो पटक चलचित्र निर्माण गर्न लागेका हुन् । भुसालले सङ्गीत गरेको सुपर हिट गीत ‘लै लै’ र ‘बनकी चरी’ दिनेशले निर्देशन गरेको चलचित्र ‘प्रसाद’मा समावेश थिए भने अर्को सुपर हिट गीत ‘जिन्दगीको के छ र भर’ दिनेशकै चलचित्र ‘सेल्फी किङ्ग’मा समावेश थियो । यस चलचित्रमा पनि भुसाल आफैले सङ्गीत तयार गरेका छन् । हर्क साउद, बि। पाण्डे, दिनेश राउत र गणेश शाहीले यसका गीत रचना गरेका छन् । प्रकाश सपूत, शान्ति श्री परियार र केतन क्षेत्रीले गीतमा स्वर दिएका छन् ।