चलचित्र द रेड सुटकेस नयाँ वर्षमा आउने भयो


ब्युटी न्युज नेपाल
काठमाडौं १६ पुस

नेपाली चलचित्र ‘द रेड सुटकेस’ नयाँ वर्षमा रिलिज हुने भएको छ । विभिन्न अन्तराष्ट्रिय फिल्म महोत्सबमा अवार्डसमेत जित्न सफल यो चलचित्रलाई अब भने नेपालमा प्रदर्शन गर्न लागिएको हो । चलचित्रलाई आगामी ३० चैतमा रिलिज गरिने यसका निर्माता रामकृष्ण पोखरेलले बताएका छन् ।

यो फिल्ममा सौगात मल्ल, विपिन कार्की, प्रविन खतिवडा, सृष्टि श्रेष्ठ आदि कलाकारको अभिनय छ । सुशन प्रजापतिको छायांकन रहेको फिल्मलाई समन अलभितिगाले सम्पादन गरेका हुन् ।

यो चलचित्रलाई फिडेल देवकोटाले निर्देशन गरेका हुन् । यसमा फिडेलकै लेखन रहेको छ । जर्मनमा लामो समय रहेर सिनेमामा उच्च शिक्षा हाँसिल गरेका फिडेलले यो चलचित्रबाट विभिन्न अन्तराष्ट्रिय अवार्ड जितिसकेका छन् । मिथक, नेपालको आप्रवासी परम्परा र नियतिलाई पृष्ठभूमिमा राखेर यो चलिचत्रको कथा बुनिएको निर्देशक फिडेलले बताए ।

चलिचत्रलाई रामकृष्ण पोखरेलले निर्माण गरेका हुन् । अघिल्लो चलचित्र ऐना झ्यालको पुलती निर्माण गरेका रामकृष्णले यो चलचित्र पनि त्यस्तै मौलिक कथामा आधारित रहेको बताएका छन् । विदेशी दर्शकबाट फिल्मले राम्रो प्रसँसा पाएका कारण नेपालका दर्शकमाझ यो फिल्म ल्याउन लागेको पनि उनले बताएका छन् । श्रीलंकामा प्राविधिक काम गरिएको फिल्ममा शोभा थापा निर्माता र श्रीलंकाकै विमुक्ति जयसुन्दरा सह–निर्माताको रुपमा रहेका छन् ।

यो चलचित्र गत सेप्टेम्बर महिनामा भेनिसमा वर्ल्ड प्रिमियर भएको थियो । सो फेस्टिभलमा रेड सुटकेशले महत्वपूर्ण दुई अवार्ड जितेको थियो । त्यसयता यो फिल्म संसारकै पुरानो मध्ये एक मानिने जर्मनीको म्यानहाइम हाइडेलवर्ग इन्टरनेसनल फिल्म फेस्टिभल, स्विजरल्यान्डको जुरिच फिल्म फेस्टिभल, भारतको मुम्बई फिल्म फेस्टिभल आदि ठाउँमा छनौट भएको थियो ।