ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ कात्तिक
नयाँ चलचित्र ‘बलिदान’को टिजर रिलिज भएको छ । दुई दशक अघि श्याम सापकोटाले बलिदान बनाएका थिए । यतिबेला सन्तोष सेनले यो चलचित्र निर्माणको घोषणा टिजर मार्फत गरेका छन् । फिल्म छायाँकन नहुँदै भिएफएक्सको माध्यमबाट टिजर बनाएर सार्वजनिक गरिएको छ ।
आसुसेन फिल्म्सको ब्यानरमा बन्न लागेको यो चलचित्रलाई ‘प्रेम गीत ३’का निर्देशक सन्तोष सेनले निर्देशन गर्दैछन् । टिजर रिलिजलाई सेनले ‘फर्स्ट ल्याण्डिंग’ भनेका छन् । टिजर रिलिज गरिएता पनि चलचित्रका कलाकार तथा प्राविधिकको विषयलाई भने चिनाईएको छ । चलचित्रको कलाकारहरु धमाधम छनौट भईरहेको बताईएको छ । अभिनेता प्रदीप खड्का या सौगात मल्ल यसमा मुख्य भूमिकामा हुने बताईएको छ । तर यो बारे निर्माण पक्षले स्पष्ट पारेको छैन । बरु अर्का अभिनेता अर्पण थापा यो चलचित्रको एक मुख्य भूमिकामा अनुबन्धित भएका छन् ।
सार्वजनिक टिजरमा चित्रित दृश्यले ‘बलिदान’ एक युग जनित विसङ्गति र विकृतिलाई छिचोल्दै विस्तारित आयाममा बन्ने एक्सन प्रधान चलचित्र हुनेछ भन्ने अनुमान गर्न मुस्किल पर्दैन । एक मिनेट १४ सेकेन्ड लामो दृश्यमा देखिएका विस्फोट, नरसंहार, तोडफोड तथा त्रसित वातावरणले देशमा हुने उथलपुथल तथा रक्तपातपूर्ण क्रान्तिको विम्ब झल्काउँछ । देशको आन्तरिक मामिलामा चर्किएको आन्दोलनमा बाह्य तत्त्वको प्रवेशपछि खलबलिएको समाज, बीभत्स घटनाहरू तथा नरसंहारपछि त्यसबाट मुक्ति पाउन नेपालको झन्डा र हतियारसहित प्रकट भएको नायकलाई टिजरमा देखाइएको छ ।
यो चलचित्रलाई एक सार्वभौम महाकथा भन्दै सेनले परिवर्तन र पहिचानका नाममा सोझा जनतालाई रक्तपातपूर्ण आन्दोलनमा होमिन लगाई बलिको बोको बनाउने र यसरी हत्याइने राज्य शक्तिमा आफै ढलीमली गर्दै राज्यको अस्मिता लुट्ने कुटिल व्यक्तिहरूलाई सिद्ध्याउनै पर्ने बेला आइसक्यो भन्ने सन्देश प्रदान गर्ने जनाए ।
आसुसेन प्रा.ली. तथा सन्तोष सेनको प्रस्तुति रहने यस चलचित्रमा निर्माताको रूपमा पवन ब्राडफोर्ड बिस्ट तथा कार्यकारी निर्माता चक्र बहादुर चन्द, प्रेम पुरी लगायत रहेका छन् । त्रिभुवन विश्वविद्यालयका प्राध्यापक, लेखक एवम् साधक दर्शन जीको लेखन रहने यस चलचित्रको ‘स्क्रिप्ट डक्टर’को रूपमा मनोज पण्डित रहेका छन् ।