परदेशी २ लाई दर्शकको साथ


ब्युटी न्युज नेपाल
काठमाडौं, २८ असोज

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्र ‘परदेशी २’ले शनिबार हलमा निकै राम्रै व्यापार गरेको छ । यस्तै सार्वजनिक विदा परेका कारण आईतबार दिउँसोसम्म पनि आफ्नो सिनेमाले राम्रो व्यापार गरेको यसका निर्माता निर्देशक नारायण रायमाझीले बताएका छन् । शनिवार उपत्यकासहित देशभरका हलमा यो चलचित्र हेर्न दर्शकको चाप रहेको पनि उनले बताएका छन् । हलबाट निस्किँदै गरेका अधिकांश दर्शकले चलचित्र एकदमै मन परेको बताएका छन् ।

‘शनिवार बुटवल, पोखरा, नेपालगञ्ज, चितवनसहित काठमाडौंका हल हाउसफुल भए’ रायमाझीले भने, ‘माउथ पब्लिसिटीले एकदमै राम्रो भइरहेको छ । शनिबार जस्तै आईतबार बिहानभन्दा दर्शक बढेका छन् । आइतवार सार्वजनिक बिदा परेका कारण चलचित्रलाई फाइदा भएको उनले बताए ।

निर्देशक रायमाझी, अभिनेता प्रकाश सपूतसंगै अभिनेत्रीद्धय केकी अधिकारी र वर्षा शिवाकोटी राजधानीका हलहलमा पुगेर दर्शकको प्रतिक्रिया लिइरहेका छन् । त्यसक्रममा केही दर्शकहरु कलाकारको अङगालोमा रोएको समेत देख्न सकिन्थ्यो । दर्शकबाट पाएको प्रतिक्रियाले कलाकारहरु पनि उत्साहित र खुशी देखिएका छन् । कलाकारहरुले पनि सकारात्मक ‘वर्ड अफ माउथ’का कारण चलचित्रले दर्शक बढाउँदै लगेको बताए ।

चलचित्रमा प्रकाश, केकी र वर्षाका साथमा प्रशान्त तामाङ, दीलिप रायमाझी, नीर शाह, देवेन्द्र बब्लु, रमा थपलिया, सबिन बास्तोला, रोशनी कार्की लगायतको समेत अभिनय छ । राजेश वंशल र निर्देशक रायमाझी मिलेर यो चलचित्र बनाएका हुन् ।
निर्देशक रायमाझीले यसअघि ‘गोर्खा पल्टन’ र ‘परदेशी’ जस्ता सुपरहिट चलचित्रहरू दिएका थिए । ‘परदेशी २’ दशैंको अवसर पारेर घटस्थापनाको दुई दिन अघिबाट प्रदर्शनमा आएको हो ।