ब्युटी न्युज नेपाल
काठमाडौं, २४ असोज
दशैंको अबसर पारेर फुलपातीको दिन ४ कात्तिकबाट रिलिज हुने नेपाली चलचित्र ‘पशुपति प्रसाद २ भस्मेडन’को ट्रेलर रिलिज गरिएको छ । पशुपति प्रसाद निर्माण भएको ७ वर्षपछि यो चलचित्र निर्माण भएको छ । पशुपति प्रसाद जस्तै यो चलचित्र पनि पशुपति क्षेत्रमै छायाँकन गरिएको छ ।
दीपेन्द्र के खनाल निर्देशित चलचित्र पशुपति प्रसाद २ भस्मेडनको ट्रेलर अनुसार यो चलचित्रमा भस्मेडन बनेका विपिन कार्की यसपटक मुख्य भूमिकामा छन् । उनले पशुपतिमा भेटिएको सुनबाट सुनको दाँत लगाएको र पछि सोही सुनको दाँतका कारण उनको जीवन धरापमा परेको प्रसँग यो ट्रेलरमा समेटिएको छ । मधेसी चरित्रको रुपमा अभिनेता सौगात मल्ल पशुपति प्रसाद २ भस्मेडनमा प्रस्तुत भएका छन् । ट्रेलर अनुसार फिल्ममा विपिन र सौगातबीच पशुपति क्षेत्रमा आफ्नो अस्तित्वको लागि निकै सँघर्ष भएको देखिन्छ ।
यो चलचित्रमा अभिनेत्री स्वस्तिमा खड्का दुर्गाको रुपमा प्रस्तुत भएको ट्रेलरमा उल्लेख छ । स्वस्तिमा र विपिनबीच प्रेम सम्बन्ध रहेको ट्रेलरले जनाउँछ । चलचित्रको ट्रेलरमा फिल्मको गीत भने राखिएको छैन । चलचित्रमा बिपिन कार्की, सौगात मल्ल, स्वस्तिमा खड्का, बर्षा सिवाकोटी, रवीन्द्र सिंह बनिया, प्रकाश घिमिरे, सजन थापा मगर, प्रकाश दाहाल, विभु पौडेल, माओत्से गुरुङ, लोकेन्द्र लेखक, विशाल पहारी, घनश्याम जोशी, सरोज अर्याल, संजोग रसाइली, कुमार बिनोद पौडेल, श्रीजना नापित, प्लम्बर कोरेन, भुमिका खड्का, आयुषी ढकाल, सबिर चुराटे, दिनेश कोइराला, अर्जुन पौडेल, प्रज्वल लुईटेल, बिकाश खनाललगायतको मुख्य भूमिका रहेको छ ।
अभिनेता खगेन्द्र लामिछानेले यो चलचित्र निर्माण गरेका हुन् । मनोज पण्डितको सल्लाहमा खगेन्द्रले फिल्मको स्कृप्ट तयार गरेका हुन् । पशुपति क्षेत्रमै ५६ दिन लगायर छायाँकन गरिएको यो चलचित्रलाई पहिलाकै शैलीमा निर्माण गरिएको यसका निर्देशक दीपेन्द्र के खनालले बताएका छन् । फिल्ममा निरज कँडेलको डिओपी, कृष्णबहादुर थापाको छायाँकन, बनिश शाहको सम्पादन रहेको छ ।