ब्युटी न्युज नेपाल
काठमाडौं, ३ असोज
बिगत चार वर्षदेखि प्रेम सम्बन्धमा रहेका अभिनेता गौरव पहारीले अन्तत बुधबार काठमाडौंमा एक समारोहबीच आफ्नी प्रेमिका श्रेयानी खतिवडासँग टिकाटालो गरेका छन् । काठमाडौंको होटल र्याडिसनमा दुबै पारिवारिक पक्ष र केही चलचित्रकर्मीको उपस्थितिमा गौरवले श्रेयानीसँग औंठी साटेका हुन् । श्रेयानी फिटनेश पेशामा आवद्ध छिन् ।
उक्त समारोहमा उनको प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘दुई कदम’को निर्देशक उदय सुब्बा सहित अभिनेता सुनिल थापा, विल्सनविक्रम राईलगायतको सिनेकर्मी सहभागी भएका थिए । गौरव र श्रेयानीको बिहे भने मँसिर महिनामा हुने भएको छ ।
फिल्म ‘मञ्जरी’बाट अभिनेताको रुपमा डेब्यू गरेका गौरव त्यसयता ‘होस्टेल’, ‘उत्सव’, ‘गाजलु’, ‘मिस्टर भर्जिन’, ‘कुम्भ करण’, ‘साइँली’, ‘छक्का पञ्जा २’ लगायत दुई दर्जन बढी फिल्ममा अभिनय गरिसकेका छन् । उनी ‘साइँली’मा निर्माता समेत थिए । उनको यस वर्ष दुई फिल्म ‘नम्बरी सुन’ र ‘दुई कदम’ प्रदर्शनको तयारीमा छ ।