शिब श्रेष्ठ र लक्ष्मी गिरीलाई दीर्घ साधना सम्मान, डब्बु क्षत्रीलाई गीतकार विशेष योगदान सम्मान


ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ

राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार आफ्नै निवासमा आयोजित २०७८ सालको दीर्घ साधना सम्मान चरित्र अभिनेत्री लक्ष्मी कुमारी पौडेल (लक्ष्मी गिरी)लाई र २०७९ सालको दीर्घ साधना सम्मानबाट अभिनेता शिब श्रेष्ठलाई सम्मानित गरेका छन् । चलचित्र विकाश बोर्डद्धारा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सो सम्मान सहित उनीहरुलाई जनही ३ लाख ७५ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरेका छन् ।

चलचित्र तथा गीत संगीत क्षेत्रमा लामो समयदेखि योगदान दिँदैआएका चलचित्रकर्मीहरु सो समारोहमा विशेष योगदान सम्मानबाट सम्मानित भएका छन् । जस मध्य अढाई दशक भन्दा लामो समय देखि चलचित्र गीत लेखनमा योगदान दिएको भन्दै गीतकार डब्बु क्षत्रीलाई सो समारोहमा चलचित्र गीतकार विशेष योगदान सम्मानबाट सम्मानित गरियो ।

सो समारोहमा अभिनय तर्फ अभिनेताहरु सन्तोष पन्त, अर्जुन श्रेष्ठ, अर्जुन जँग शाही, किरण केसी, कमलकान्त मैनाली, भूपेन्द्र खड्का, रामचन्द्र अधिकारी, रामेश्वर केसी, बिजय लामा, सुनिल कटुवाल, रामेश्वर वुर्लाकोटी, सुभास प्रसाद गजुरेल, कमल गाउँलेसम्मानित भए । यस्तै अभिनेत्रीहरु झरना थापा, बिमला केसी पनि सम्मानित भए ।

गायक शिव परियार, ध्वनी विज्ञ सुनयमान श्रेष्ठ, चलचित्र निर्माताहरु सुवास गिरी, कृष्ण प्रसाद पोखरेल, निर्देशकहरु दयाराम दाहाल, शोभित बस्नेत, बिमल पौडेल, सुदर्शन थापा, ऋषीराज आचार्य, केपी पाठक, छायाँकार गौरीशँकर धुजु, चलचित्र ब्यबसायी ओम अग्रवाल, प्राविधिक मनोज केसी, वितरक रमेश ढकाल, सम्पादक विपिन मल्ल चलचित्र प्रदर्शक इन्द्रदेव चलचित्र मन्दिर, एनआरएन दुवईका पूर्व अध्यक्ष ठाकुर प्रसाद ढुँगानालाई पनि सम्मान गरियो ।

यस्तै २०७८/७९ सालको राष्ट्रिय चलचित्र अवार्ड विभिन्न विधामा प्रदान गरियो । यो वर्ष उत्कृष्ट चलचित्रको अवार्ड विशेष चलचित्रको अवार्ड ऐना पुतली झ्याल र गोर्खा व्रेभलाई प्रदान गरियो ।

यस्तो सो समारोहमा यो वर्षको उत्कृष्ट निर्देशकको अवार्ड चलचित्र प्रकाशबाट दिनेश राउतले, उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि चलचित्र प्रकाशबाटै दीया मास्केले पाईन । यसैगरी उत्कृष्ट अभिनेताको अवार्ड चलचित्र महापुरुषबाट हरिबँश आचार्यले, छायाँकारको अवार्ड चलचित्र लप्पन छप्पन २ बाट पुरुषोत्तम प्रधानले, उत्कृष्ट स्कृप्टको अवार्ड चलचित्र चिसो मान्छेबाट दीपेन्द्र के खनालले र सम्पादकको अवार्ड चलचित्र दोखबाट नेमिस श्रेष्ठले प्राप्त गरे । यसैगरी आदिबासी सिनेमा तर्फ भोजबहादुर गुरुङको गुरुङ भाषाको फिल्म देशै राम्रोले अवार्ड पायो ।

समारोहमा २०७८ सालको विशेष चलचित्रको अवार्ड चलचित्र निरमायाँ र टुल्कीलाई प्रदान गरियो भने २०७९ सालको विशेष चलचित्रको अवार्ड ऐना पुतली झ्याल र गोर्खा व्रेभलाई प्रदान गरियो । यी प्रत्यक सिनेमाले अँग्रेजी सब टाईटलको लागि जनही २ लाख रुपैयाँ प्राप्त गर्नेछन् ।

कार्यक्रममा बोल्दै सञ्चार मन्त्री रेखा शर्माले नेपाली कलाकारहरुको योगदानको सम्मान स्वरुप सम्मान र अवार्ड प्रदान गर्दै आएको बताईन् । नेपाली चलचित्रमा मौलिक कथाहरु प्राप्त होसभनेर स्टोरी बैंक परियोजना आफुहरुले सञ्चालन गरेको पनि उनले बताईन् । आगामी दिनमा इन्डोर सुटिङ स्थल निर्माणलाई पनि महत्व दिने उनले बताईन् ।

यस्तै चलचित्र विकाश बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्र उधोगमा धेरैको योगदान रहे पनि यसपटक आफुहरुले ३५ जनालाई मात्र सम्मानगर्न सकेको बताए । आउँदा दिनमा अरु अग्रजलाई पनि सम्मान गर्दै जाने प्रतिवद्धता उनले जनाए । निर्णायकले गरेको निर्णयको आधारमा आफुहरुले २०७८ र ०७९ को उत्कृष्ट १० विधालाई अवार्ड प्रदान गरेको पनि उनले कार्यक्रममा प्रकाश पारे ।

चलचित्र विकाश बोर्डका सदस्यसचिब विशाल सापकोटाले दीर्घ साधनाबाट सम्मानित श्रष्टाको योजदानबारे प्रकाश पार्दै बोर्डको भावी योजनाबारे पनि जानकारी गराए ।