ब्युटी न्युज नेपाल
काठमाडौं, २१ भदौ
नेपाली चलचित्र ‘एक भगवत् गीता’लाई रिलिजको मुखमा चलचित्र विकाश बोर्डले सेन्सर सिफारिस रोकेको छ । बिहिबार सेन्सरको लागि अनुमति लिन बोर्ड पुगेको निर्माण पक्षलाई बोर्डले सिफारिसपत्र दिएन ।
सेन्सरको लागि आफुले घन्टौं कुर्दा पनि सेन्सर सिफारिस पत्र बोर्डले नदिएको फिल्म निर्माता सुनिलकुमार थापा बोर्डमा अकस्मात आयोजित पत्रकार भेटघाट कार्यक्रममा बताए । केही धार्मिक संघसंस्था चाहिं फिल्मलाई प्रदर्शन अनुमति नदिन भन्दै निवेदन बुझाउन पुगेका थिए । सिफारिसपत्र नदिएकोमा निर्माता थापा र चलचित्र विकास बोर्डका प्रवक्ता केएल बुढाथोकीबीच पत्रकार सम्मेलनमा चर्काचर्की नै भयो । करोड भन्दा बढी लगानी भएको यो फिल्मले प्रदर्शन रोकेमा आफु अमेरिका पलायन हुने चेतावनी पनि उनले दिएका छन् । बोर्ड नेपाली चलचित्रको पक्षमा नरहेको आरोप उनले कार्यक्रममा लगाए ।
उक्त प्रेसमिटमा बोर्ड प्रवक्ता बुढाथोकीले एकातिर धार्मिक सहिण्णुता काम राख्नुपर्ने र अर्कोतिर फिल्मको अधिकार पनि स्थापित गर्नुपर्ने पक्षमा आफूहरु उभिने बताए । यसका लागि शुक्रबार बस्ने बोर्ड बैठकले सेन्सर सिफारिसबारे निर्णय गर्ने जानकारी उनले दिए । आफूहरु धार्मिक संवेदनशीलताप्रति गम्भीर रहेको प्रवक्ता बुढाथोकीले बताए ।
यो विषयमा धार्मिक संस्थाका पदाधिकारी, निर्माण पक्ष र बोर्डका पदाधिकारीबीच सोमबार बोर्डमै वार्ता भएको थियो । सो वार्तामा फिल्मको स्कृप्ट पढेर तथा फिल्म हेरेर आफुहरुले प्रदर्शनको अनुमति दिने की नदिने भन्ने निर्णय गर्ने उनीहरुले बताएका थिए । त्यस अघि विश्व हिन्दु महासंघसहितका १३ धार्मिक संस्थाले फिल्मले शीर्षक परिवर्तन गर्नुपर्ने माग राख्दै बोर्डमा निवेदन बुझाएका छन् ।