अर्जुन श्रेष्ठ र दीपाश्री निरौलालाई रजत सम्मान, कुवेर गिरीलाई पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

छायाँछवि क्रियशनले १३ र १४ औं डि सिने अवाडए समारोहमा अभिनेता अर्जुन श्रेष्ठ र हाँस्य अभिनेत्री तथा चर्चित निर्देशक दिपाश्री निरौलालाई छायाँछबी रजत सम्मान अर्पण गर्ने भएको छ । संस्थाका अध्यक्ष शान्तिप्रियले एक विज्ञप्ति मार्फत रजत सम्मान श्रेष्ठ र निरौलालाई प्रदान गर्ने घोषणा गरेका छन् ।

‘छायाँछवि क्रियसनको आयोजनामा हुने डि सिने अवार्ड २०७६÷०७७मा श्रेष्ठ र निरौलालाई उक्त सम्मान अर्पण गर्न लागिएको हो । अवार्ड समारोह असार १८ गते सोमबार दिउँसो १ बजेबाट रसियन कल्चर सेन्टरमा आयोजना हुँदैछ ।’ अवार्डका अध्यक्ष शान्तिप्रियले भने ।

सन् १९९१ को चलचित्र सम्पत्तिबाट नेपाली चलचित्रमा अभिनययात्रा शुरु गरेका अभिनेता अर्जुन श्रेष्ठले तीस भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका छन् । उनी केही चलचित्रका निर्माता पनि हुन् ।

यस्तै विभिन्न रेडियो तथा टेलिभिजन कार्यक्रमहरुमा काम गरेपछि सन् १९९८ मा प्रदर्शन भएको चलचित्र गाउँले (प्रदर्शनका हिसाबले सन् १९९७ को चलचित्र नासो) बाटयस क्षेत्रमा प्रवेश गरेकी निरौलाले दुई दर्जन भन्दा बढी चलचित्रमा अभिनय गरेकी छिन् । उनी चलचित्र छक्का पञ्जाका ३ बटा सिरिजकी निर्देशक पनि हुन् ।

सोही समारोहमा यसपटक छायाँछबी चलचित्र पत्रकारिता पुरस्कारबाट चलचित्र पत्रकार कुबेर गिरीलाई पुरस्कृत गरिने भएको छ । बि.सं. २०५८ सालमा प्रभातकालिन दैनिकबाट पत्रकारिता शुरु गरेका गिरी निरन्तर रुपमा २२ वर्षदेखि चलचित्र पत्रकारितामा सक्रिय छन् । चलचित्र पत्रकार संघ नेपालको उपाध्यक्ष समेत रहेका गिरी रातोपाटी डटकममा आवद्ध छन् ।

यस्तै यसवर्ष कलाका बिभिन्न माध्यमबाट नेपाली चलचित्र, गीतसंगीत, कला तथा साहित्यका क्षेत्रमा योगदान पु¥याएका कलासाधकहरुलाई पनि छायाँछबी सम्मान अर्पण गरिने भएको छ । यसवर्ष अभिनेता तथा मोडल दीनेश के.सी., चलचित्र निर्देशक चेतनाथ दंगाल, चलचित्र निर्देशक समुन्द्र भट्ट, अभिनेत्री सानिया खान, प्राबिधिक प्रकाश मिश्र, मोडल रुपा राना, निर्माता तथा निर्देशक सन्तोष सुबेदी, गायिका मञ्जु थापा र गीतकार किरण केसी क्रोधीलाई छायाँछबी सम्मान अर्पण गरिने छ । समारोहमा २०७७ र ०७८ सालमा सार्वजनिक प्रदर्शनमा आएका चलचित्रबाट बिभिन्न बिद्यामा अवार्ड प्रदान गरिने छ ।