ब्युटी न्युज नेपाल
काठमाडौं, ८ असार
काठमाडौं उपत्यकाका २२ भन्दा बढी लोक दोहोरी व्यवसायीहरुलाई गीत संगीतको सार्वजनिक प्रयोग गर्नका लागि संगीत रोयल्टीको नियममा आएका छन् । यसका लागि उनीहरुले संगीत रोयल्टी सँकलन समाजसँग अनुमति पत्र (लाइसेन्स) समेत लिएका छन् ।
नेपाल प्रतिलिपि अधिकार कार्यालय र संगीत तथा चलचित्र उत्पादक समाज नेपालले लोकदोहोरी व्यवसायीहरुसँग ‘प्रतिलिपि अधिकार कानून कार्यान्वयन तथा लोक दोहोरी साँझ रेष्टुरेन्टको सार्वजनिक प्रयोग वापतको संगीत रोयल्टी’ विषयक अन्तरक्रियामा उनीहरुलाई अनुमति पत्र प्रदान गरिएको हो ।
अनुमति पत्र पाउनेहरुमा गाउँले रोधी घर, डाँडा घरे रोधी एण्ड क्लब, सुस्केरा दोहोरी साँझ, यानिमाया रोधी क्लब, मधुवन रोधी घर एण्ड सुनार हाउस, माईली रोधी घर, सोल्टीनी रोधी नाच घर, सालैजो दोहोरी साँझ, गाउँ बेशी दोहोरी साँझ, निलकमल दोहोरी साँझ छन् ।
त्यस्तै जुनतारा दोहोरी एण्ड लाउन्ज, मुर्छाना दोहोरी साँझ, डाँफे रोधी घर, इन्द्रेणी रोधी क्लब एण्ड डिस्को, टप राजधानी दोहोरी साँझ, संगीतमाला रोधी घर, जुनकिरी रोधी नाचघर, नौ डाँडा दोहोरी साँझ, बासुरी दोहोरी साँझ र देउराली रोधी घरले पनि अनुमति पत्र लिएका छन् ।
उनीहरुलाई प्रतिलिपि अधिकार ऐन २०५९ को दफा ३९ तथा नियमावली २०६१ को दफा १० बमोजिम लोकदोहोरी साँझहरुलाई सामूहिक रोयल्टी व्यवस्थापन समूहहरु र दोहोरी साँझसँगको सम्झौता बमोजिम गीत संगीतको सार्वजनिक रुपमा प्रयोग गर्न अनुमति प्रदान गरिएको हो ।
कार्यक्रममा संस्कृति महाशाखा प्रमुख डा. सुरेश श्रेष्ठ, प्रतिलिपि अधिकार रजिष्ट्रार कार्यालयका निमित्ति रजिष्ट्रार उत्तम दवाडी, पुर्व रजिष्ट्रार बिसुकुमार केसी, संगीत रोयल्टी सँकलन समाज नेपालका अध्यक्ष सुरेश अधिकारी, प्रस्तोता समाजका कार्यबाहक अध्यक्ष निर्णय श्रेष्ठ, संगीत तथा चलचित्र उत्पादक समाज नेपालका अध्यक्ष सूर्यबहादुर मगर, संगीतकार महेश खड्का, सांगीतिक संघका अध्यक्ष मिलन मोक्तान र प्रहरी वृतका प्रमुखहरुले सहभागी थिए ।