ब्युटी न्युज नेपाल
काठमाडौं, २२ चैत
नेपाली चलचित्र ‘बहाव’को बुधबार साँझ काठमाडौंको बानेश्वर स्थित वान सिनेमाका दुई वटा हलमा भव्य प्रिमियर गरिएको छ । प्रिमियरमा चलचित्रकर्मी सञ्चारकर्मी, पत्रकार तथा राजनीतिक दलका नेताहरु थिए । प्रिमियरपछि फिल्मकर्मी तथा नेताले फिल्मको विषयवस्तु फरक लागेको बताए ।
एमाले नेता रघुजी पन्तले ‘बहाव’ एउटा फरक कथाबस्तुमा बनेको नेपाली चलचित्र भएको बताए । उनले नेपाली चलचित्रको प्रस्तुतिमा धेरै परिवर्तन आएको आफुले बहाव हेरेर थाहा पाएको बताए ।
पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री र सांसद पदम गिरीले फिल्मले समाजभित्रको अन्तरविरोधलाई देखाएको बताए । उनले समाजभित्र रहेको विभेदको जरा उखेल्न नसिरहेको अवस्थामा ‘बहाव’ ले त्यो जरा उखेल्न भूमिका निर्वाह गर्ने दाबी गरे । ‘यस्तो फिल्मले समाजलाई बदल्न महत्वपूर्ण भूमिका खेल्छ । फिल्मले समाजको वास्तविक कथा बोलेको छ’, उनले भने ।
निर्देशक नरेश पौडेलले निर्माण र प्रस्तुतिका हिसावले चलचित्र बहाव नेपाल सिने उधोगमा एउटा मानक सिनेमा हुने बताए । अहिलेको अबस्थामा व्यापारको बारे मूल्याँकन गर्न नसकिए पनि निर्माणको हिसावले बहाउ उत्कृष्ट सिनेमा बनेको उनले जिकिर गरे,‘फिल्म हेरिरहँदा प्रस्तुतिको हिसावले जापानी फिल्म हेरेको अनुभव गरें । कथावस्तु फरक भएकाले पनि मलाई हेर्न मजा लाग्या’, उनले भने ।
अर्का कलाकार विजय बरालले यो चलचित्र देखेर आफुलाई निकै लोभ लागेको प्रतिक्रिया दिए । उनले फिल्मको अवधारणाले आफुलाई निकै आकर्षित गरेको प्रतिक्रिया दिए ।
अभिनेत्री लुनिभा तुलाधरले यो चलचित्र हेरी रहँदा त्यहाँ भित्रका कतीपय कथाहरु आफ्नै हो जस्तो लागेको बताईन् । उनले पात्रको मनोविज्ञानको अबस्थालाई अभिनेत्री सुरक्षामार्फत ससक्त रुपमा उठान गरिएको बताईन् ।
कलाकार भोलाराज सापकोटाले कलाकारहरुको अभिनय जिवन्त लागेको बताए । उनले कथादेखि प्रस्तुतिकरण, कलाकारको अभिनय राम्रो लागेको बताए । अर्का कलाकार दीपक आचार्यले नेपाली परिवेशमा एउटा राम्रो फिल्म बनेको उल्लेख गरे ।
फिल्मका अभिनेता कमलमणि नेपालले फिल्ममा आफू कठोर देखिए पनि वास्तविक जीवनमा कमलो मनको भएको बताए । कोरोना महामारीको समयमा काम गरे पनि राम्रो सिर्जना दर्शकमाझ ल्याएको जनाए ।