अभिनेता पल शाहले उच्च अदालतबाट पाए सफाई, सोमबार रिहा हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौं, १४ फागुन

अभिनेता पल शाहले नावालिक यौन दुराचार अभियोगमा उच्च अदालत पोखराबाट आईतबार सफाइ पाएका छन् । यही मुद्धामा यस अघि जिल्ला अदालत तनहुँबाट सफाई पाईसकेका शाहलाई आईतबार न्यायाधीश डिल्लीराज आचार्य र श्रीधरा कुमारी पुडासैनीको इजलासले अभियोग दाबी नपुग्ने भन्दै बाल यौन दुराचार अभियोगमा सफाइ दिएको हो ।

एक जना नावालिक गायिकामाथि यौन दुरुपयोगको मुद्दामा साँढे दुई वर्ष सजाय काटिरहेका अभिनेता शाह हाल तनहुँको जिल्ला कारागारमा छन् । एक वर्ष कारागर जीवन बिताएका उनलाई सोमबार बिहान जिल्ला कारागार तनहुँबाट रिहाई गरिने भएको छ ।

पल शाहलाई जिल्ला अदालत नवलपरासी पूर्वले बाल यौन दुरुपयोगको आरोपमा साढे २ वर्ष कैद र पीडितलाई १० लाख क्षतिपूर्ति दिने फैसला गरेको थियो । उक्त फैसलाविरुद्ध सरकारी वकिल र पल शाह दुबै पक्षले उच्च अदालतमा पुनरावेदन दिएका थिए ।

एक नाबालिग गायिकालाई बलात्कार गरेको आरोपमा पल शाहविरुद्ध जिल्ला अदालत नवलपरासी पूर्व र जिल्ला अदालत तनहुँमा मुद्दा चलेको थियो । नवलपरासी पूर्वले बलात्कार मुद्दामा सफाइ दिँदै बाल यौन दुरुपयोगमा साढे २ वर्ष कैद र १० लाख क्षतिपूर्ति दिनुपर्ने फैसला गरेको थियो ।