ब्युटी न्युज नेपाल
काठमाडौं, १६ मँसिर
चलचित्र ‘अन्तिम संस्कार’ छायाँकन सकिएर पोष्ट प्रोडक्सनको क्रममा छ । प्रदीप शाही निर्देशित यो चलचित्र अन्तराष्ट्रिय फिल्म फेस्टिभलमा लैजाने आफूहरुको पहिलो प्रयास रहने निर्देशक शाहीले बताए ।
‘हाम्रो पहिलो प्रयास अन्तर्राष्ट्रिय फिल्म फेष्टिभलमा लैजाने रहन्छ’ उनले भने, ‘त्यसपछि मात्रै चलचित्र हलमा रिलिज हुनेछ ।’ ‘अन्तिम संस्कार’को अर्थ मानिसको मृत्युपश्चात गरिने संस्कार हो । निर्देशक शाहीका अनुसार चलचित्रमा ‘मर्डर मिसयूज’को कथालाई समावेश गरिएको छ । सामाजिक एवं सांस्कृतिक कथावस्तुमा रहेका आईरहेका भन्दा विल्कुलै फरक खालको चलचित्र निर्माण गर्ने प्रयास गरिएको उनको दाबी छ । उनी आफू र आफ्नो टिमले निकै मेहनत गरेको बताउँदै चलचित्र हेरेपछि दर्शकहरु ‘यो नेपाली र नेपाली टीमले बनाएको चलचित्र हो ?’ भनेर आश्चर्यमा पर्ने समेत दाबी गर्छन् ।
‘नेपालमा धेरै ट्यालेन्ट फिल्म मेकरहरु हुनुहुन्छ । कथा राम्रो छ, पर्फेमेन्स राम्रो छ । लोकेशन नेपाली छ भने हामीले आफ्नै मौलिक कथा निकाल्न सक्दो रहेछौं भन्ने फिल हुन्छ जस्तो लाग्छ’ – उनी भन्छन् ।
नेपाली चलचित्रलाई अन्तराष्ट्रिय बजारसम्म पुर्याउन र चिनाउन निर्माता एवं निर्देशकहरु प्रयासरत हुनुपर्ने उनी बताउँछन् । आफू त्यही प्रयासमा लागिरहेको उनको भनाई छ । यतिबेला लण्डनमै पोष्ट प्रोडक्सनको काम भईरहेको ‘अन्तिम संस्कार’को लगानी झण्डै २ करोड पुग्ने अनुमान छ । विनोद सुवेदी खत्री (टाटेमित) को निर्माण रहेको चलचित्रमा विजय लामा, दिया पुन, रेश्मा घिमिरे, विशाल पहाडी, कृष्णभक्त महर्जन, एवनराज उप्रेती लगायतका कलाकारहरुको अभिनय छ । निर्देशक शाही ‘अन्तिम संस्कार’पश्चात ‘गोर्खाः विनिथ द ब्रेभरी २’ निर्माणको तयारीमा लाग्नेछन् । यो चलचित्र भने कर्मशियल हिसाबले निर्माण हुने उनको भनाई छ ।
‘गोर्खाः विनिथ द ब्रेभरी’ निर्देशन गरेर नेपाली चलचित्र निर्देशनमा भित्रिएका शाहीको ‘अन्तिम संस्कार’ दोस्रो चलचित्र हो । लामो समयदेखि लण्डनमा बस्दै आएका शाहीले त्यहीबाट फिल्म मेकिङमा ग्राजुयट गरेका छन् । त्यहाँ केही सर्टफिल्म र सिरिजमा समेत काम गरेर राष्ट्रिय अवार्ड समेत प्राप्त गरिसकेका शाही यतिबेला आफूलाई नेपाली चलचित्र उद्योगमा स्थापित गर्न खोज्दैछन् ।