ब्युटी न्युज नेपाल
काठमाडौं, १८ कात्तिक
सामाजिक रुपान्तरणका लागि भनेर निर्माण गरिएको चलचित्र ‘निरमाया’ को पहिलो गीत सार्वजनिक गरिएको छ । यो चलचित्रको ‘मायाको रंग हुँदैन’ गीत सार्वजनिक गरिएको हो । यसमा धर्मेन्द्र सेवान र रेखा शाहको स्वर रहेको छ । उत्तम भेटुवालको शब्द रचना रहेको गीतमा रिमेश कुमारको संगीत रहेको छ ।
मदानी मुभिजको प्रस्तुतिमा पदम बिस्वकर्मा साहित्य प्रतिष्ठानको सहकार्यमा निर्माण भएको चलचित्रमा परिवर्तन आफैंबाट सुरु गरौँ समाज स्वत बदलिनेछ भन्ने मूल भाव प्रस्तुत गरिएको छ । चलचित्रले नेपाली समाजमा जरो गाडेर बसेको छुवाछुतको मुद्दालाई उठाएको छ ।
सार्वजनिक गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार जेबी डिसी, अजित लामिछाने, प्रतिषा रिजाल र समृद्दि पौडेलको अभिनय छ । अनन्त प्रसाद तिमल्सिनाको प्रस्तुति रहेको चलचित्र निरमायाको निर्देशन रमेश कोइरालाले गरेका हुन् । महेश तिमल्सिना कार्यकारी निर्माता रहेको चलचित्रको निर्माता रोजा तिमल्सिना र रमेश दाहाल हुन् ।
चलचित्रमा रमेश बुढाथोकी,लय संग्रौला,जे.एन.घिमिरे,जेबी डिसी,अजित लामिछाने,प्रतिषा रिजाल,सम्रिद्दी पौडेल, रमेश अधिकारि,अनीता केसी,गोपाल ढकाल,रामबाबु रेग्मी लगाएतका कलाकारको मुख्य भूमिका रहेको छ। चलचित्रमा राम कुमार केसीको कथा र अजित लामिछानेको लेखन रहेको छ। रवी कोइराला र जीवन पराजुलीले छायाँकन गरेको चलचित्रको सम्पादन उत्तर राना मगर र तारा थापा किम्भेले गरेका हुन् भने चलचित्रमा कविराज गहतराजको कोरियोग्राफी,अशोक खड्काको द्वन्द,कमल अधिकारी,रिमेश कुमारको संगीत रहेको छ। बिनयराज पौडेलको मुख्य सहायक निर्देशन रहेको चलचित्रको छायाँकन सिन्धुली,काभ्रे र रामेछापमा गरिएको हो।