सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, १४ भदौ
नेपाली चलचित्रकै इतिहासमा रिलिज भएको चलचित्रलाई निर्माताले बिद्रोह गरेर हलबाट निकालेका छन् । यो कार्य चलचित्र राधाको निर्माण पक्षले गरेको हो । महिलाहरुको कथामा आधारित फिल्म राधालाई तीजको दिन समेत हल नदिएर विभेद र अन्याय गरेको भन्दै आजबाट आफुहरुले देशभरका हलबाट चलचित्र राधाको प्रदर्शन रोक्ने निर्णय गरेको यसका निर्माता देवकी बिष्टले मंगलबार आकस्मिक पत्रकार सम्मेलन आयोजना गरेर बताएकी छिन् ।
यो फिल्मलाई अभिनेता सौगात मल्ल, अभिनेत्री सृष्टि श्रेष्ठ र देबकी बिष्टले निर्माण गरेका हुन् । फिल्ममा राधाको केन्द्रिय भूमिकामा नायिका सृष्टी छिन् । हराएका पतिको खोजी गर्न एकल महिलाले गरेको सँघर्षको कथा यो चलचित्रमा प्रस्तुत गरिएको छ ।
हलमा दर्शक फिल्म हेर्न जाँदा फिल्म नपाएको, आफुहरुलाई फिल्म चलाउनको लागि प्राईट टाईम र उपयुक्त शो नदिएको कारण रिलिज गरेको पाँचौ दिनमा फिल्म हटाउनु परेको बिष्टको भनाई छ । पत्रकार सम्मेलनमा उनले भनिन्,‘ अनुकुल शो नदिएर दर्शकले फिल्म हेर्न नपाएपछि किन फिल्म चलाउनु र ? । त्यसैले हामीले राधाको आजैबाट प्रदर्शन रोक्ने निर्णय गरेका छौं ।’ फिल्म रोक्नको लागि आफुहरुले हल वालाहरु र वितरक दुवैलाई सुचना दिईसकेको पनि उनले पत्रकार भेटघाटका क्रममा बताईन् । आफुहरुले न वोलेको कारण पनि शो नदिईएको पनि निर्माता बिष्टले बताईन् ।
यस अघि प्रदीप खड्काको चलचित्र प्रकाशलाई पनि क्युएफएक्सको चेन हलमा माग अनुसारको सो दिईएको थिएन । हिन्दी फिल्म लाईगरलाई महत्वका साथ शो दिईएको थियो । प्रकाश टिमले फिल्म रिलिज भएको भोलीपल्टै पत्रकार सम्मेलन गरेर दर्शकको माग बमोजिम शो नपाए फिल्म हटाउने चेतावनी दिएपछि क्युएफएक्स चेनले शो बढाएको थियो । आज तीजको दिन नेपालमा लाईगर भन्दा प्रकाशमा दोब्बर दर्शक उर्लिएका छन् ।
त्यसैले नेपाली सिनेमालाई पाखा र बिदेशीलाई काखा गर्ने हल सञ्चालकहरुको नियतीले यतीबेला चलचित्र राधालाई निर्माण पक्षले उतार्नु परेको छ । पत्रकार सम्मेलनमा यो चलचित्रका निर्देशक सुवर्ण थापाले आफुहरुले दर्शक र पत्रकारबाट राम्रो प्रतिक्रिया पाए पनि हल सञ्चालकबाट पूर्ण रुपमा धोका पाएको बताए । निर्माता तथा अभिनेता सौगात मल्ल र अभिनेत्री सृष्टी श्रेष्ठले पनि आफुहरुको फिल्मलाई गरेको अपहेलना प्रति दुःख ब्यक्त गरेका छन् ।