चलचित्र विकाश बोर्ड अध्यक्षमा १० जनाको दरखास्त


ब्युटी न्युज नेपाल
काठमाडौं, २ असार

रिक्त रहेको चलचित्र विकाश बोर्डको अध्यक्ष पदका लागि १० जना चलचित्रकर्मीको दरखास्त परेको छ । बोर्ड अध्यक्ष बन्न आकाँक्षी १० जनाको सूची सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक गरेको छ ।

चलचित्र विकाश बोर्डबाट अध्यक्ष दयाराम दाहालको कार्यकाल गत २१ जेठमा सकिएपछि बोर्डको अध्यक्ष पद रिक्त रहेको छ । नयाँ अध्यक्षको लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गत ३ असारमा अध्यक्षको लागि सार्वजनिक रुपमा दरखास्त आह्वान गरेको थियो । सोही आह्वानको आधारमा यतीबेला बोर्ड अध्यक्षका लागि १० जनाको निवेदन परेको हो ।

अध्यक्षका लागि दरखास्त हाल्नहरुमा अभिनेता भुवन केसी, चलचित्र निर्देशकहरु दीपक श्रेष्ठ, नरेश कुमार पौड्याल, सुचित्रा श्रेष्ठ, सम्झना उप्रेती रौनियार, अरुण कुमार प्रधान, मनिष पन्डित, निर्माता शुशिल कुमार पोखरेल, कलाकार सुष्मा कार्की र निर्मल राज ढकाल रहेका छन् ।

आफु अध्यक्ष भएपछि गर्नु पर्ने विभिन्न कार्य योजना मन्त्रालयमा पेश गर्न सञ्चार मन्त्रालयले यिनीहरुलाई आह्वान गरेको छ । चलचित्र विकाश बोर्ड अध्यक्षको नियुक्ती राजनीतिक आधारमा हुने भएकाले अहिले यी चलचित्रकर्मीहरु अध्यक्षको लागि शक्तिकेन्द्र तर्फ दौडधुपमा लागेका छन् ।