ब्युटी न्युज नेपाल
काठमाडौं, ३० असार
दिवँगत अग्रज कलाकार जयनन्द लामाको पहिलो फिल्म अन्तिम चलचित्र ‘दार्बुङ’ (गाग्री) यही शनिबार जमलस्थित राष्ट्रिय नाचघरमा प्रिमियर हुँने भएको छ । तामाङ भाषाको यो फिल्म सञ्जय लामाले निर्देशन गरेका हुन् । फिल्ममा अपांगता भएका व्यक्तिको संवेदनालाई उतारिएको निर्देशक लामाले बताए,‘अपांगता भएका व्यक्तिप्रति समाजले गर्ने पुरातन व्यवहारमा परिवर्तन ल्याउनुपर्छ भन्ने उदेष्यले फिल्म बनाएका हौं’, निर्देशक सन्जयले भने ।
गत फागुनमा छायांकन सकिएको फिल्ममा स्वर्गीय जयनन्दले अपांगता भएको व्यक्तिको बुबाको रुपमा अभिनय गरेका छन् । ‘कथा मन पराएपछि उहाँ फिल्म खेल्न राजी हुनुभएको थियो’, निर्देशक सन्जयले भने, ‘तर दुखद कुरा उहाँलाई फिल्म सुटिङ सम्पन्न भएको केही समयमै गुमाउनु पर्यो ।’
सुरज श्रेष्ठको द्वन्द्व निर्देशन रहेको फिल्ममा अर्जुन खड्काको सम्पादन, दीपक तामाङको मिक्सिङ, प्रज्वल राउतको छायांकन, कर्साङ लामाको पाश्र्व संगीत छ । निरमाया घिसिङको कथा, लोसाङ लामा र इकेस लामाको संयुक्त निर्माणमा बनेको उक्त फिल्मलाई पर्खाई मोक्तानले सह–निर्माण गरेका हुन् । थुप्रै तामाङ फिल्ममा नायकको भुमिका गरेका हुत्त सञ्जय लामाले फिल्ममा अपांगता भएको चरित्रमा अभिनय गरेका छन् ।
तामाङ नायिका सुनिता लुङ्वा, कलाकारहरु मानबहादुर तामाङ, करेशा वाइवा, सुस्मिता तामाङ, मायादेवी मोक्तान, भुइसाल लामा, राम तामाङ, सुनमाया तामाङ सिर्जना गोले, डोमो ह्योल्मो, पेमा योञ्जन तामाङ, दीपेश लामा, रुदेन माझी, हिरन माझी, क्रिष्टल मगर, राजकुमार तामाङ, इन्द्रबहादुर स्याङतान, दोर्जे मोक्तानलगायतले अभिनय गरेका छन् ।
त्यस्तै चलचित्र सम्झना लामा र बुद्ध ब्लोन तामाङले गीत लेखेका छन् भने कर्साङ लामाको संगीत र बबिता पाख्रिन, पूजा लामा, आकाश ब्लोन, कार्साङ लामाको गायन रहेको छ ।