मिथिला र बिदूरलाई हरितारा चलचित्र पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, १८ जेठ

२०७७ र ०७८ को हरितारा चलचित्र पुरस्कारबाट अभिनेत्री मिथिला शर्मा र नेपाल समाचारपत्रका समाचार सम्पादक विदुर गिरीलाई पुरस्कृत गरिएको छ । परिवर्तन नेपालले बुधबार राजधानीमा एक कार्यक्रम आयोजना गरी यो पुरस्कार प्रदान गरेको हो । दुबै कलाकार जनही २५ हजार रुपैयाँ र ताम्रपत्रबाट पुरस्कृत गरिएको हो ।

नेपाली चलचित्रबृत्तमा चार दशकदेखि निरन्तर अभिनय गरेबापत मिथिला शर्मालाई र तीन दशक भन्दा लामो समयदेखि निरन्तर चलचित्र पत्रकारिता गरेबापत चलचित्र पत्रकार बिदुर गिरीलाई पुरस्कृत गरिएको आयोजक संस्थाका अध्यक्ष मोहन निरौलाले कार्यक्रममा बताए । २०५२ सालमा समाजसेवी विजया राणा (तारा नानी) ले पति हरि शम्शेरसमेतको नाममा अक्षय कोष खडा गरी यो पुरस्कार सुरु गरेको पनि निरौलाले जानकारी गराए ।

यस्तै सोही कार्यक्रममा यो वर्षको चेतन कार्की स्मृति पुरस्कारबाट अग्रज चरित्र अभिनेता देशभक्त खनाललाई पुरस्कृत गरियो । पुरस्कार रकम स्वरुप उनलाई ११ हजार रुपैयाँ र ताम्रपत्र प्रदान गरियो ।

समारोहमा २०७७ र २०७८ सालको श्री दुर्गादेवी पुण्य निरौला स्मृति पुरस्कार नगद १० हजार रुपैयाँ सहित अभिनेता विनोद श्रेष्ठ र चलचित्र पत्रकार मनोज केसीलाई प्रदान गरियो । नेपाली चलचित्र बृत्तमा लामो समयदेखि योगदान दिएको भन्दै निर्देशकहरु मदन घिमिरे, ज्ञानेन्द्र देउजा, अभिनेता श्रीदेव भट्टराई, राजकुमार शाह, लेखक तथा निर्माता मौनता श्रेष्ठलाई परिवर्तन नेपाल विशेष सम्मान प्रदान गरियो । यस्तै सिनेकर्मीहरु शारदा गिरी, जनक खकुरेल, देवेन्द्र पाण्डे, दीपाशा विसी, नन्दा बस्याल, मञ्जु निरौला, रजनी अर्याल र रेणु पौडेललाई परिवर्तन सम्मान प्रदान गरियो ।

कार्यक्रममा आयोजक मालिका राना, मोहन निरौला, फिल्मकर्मी चेतन कार्कीको धर्मपत्नी गंगा कार्की, समाजसेवी शाबित्री कोइराला, प्रथम नायिका भुवन चन्द थापा, नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष रक्षा सिंह राणा, अभिनेत्री रेजिना उप्रेती र फिल्म निर्देशक सम्झना उप्रेती रौनियारले लगायतले सो पुरस्कार तथा सम्मान प्रदान गरेका थिए । सो कार्यक्रमको व्यबस्थापन चलचित्र निर्देशक माधवराज खरेलले गरेका थिए ।

सो कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, नेपाल चलचित्र निर्माता संघका अध्यष आकाश अधिकारी, अग्रज अभिनेता मदनदास श्रेष्ठले यस्ता पुस्कारले चलचित्र क्षेत्रमा लागेको श्रष्टाहरुलाई प्रोत्साहन मिल्ने बताए ।

यस्तै अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, दीपाश्री निरौलालगायतले सो पुरस्कारको चर्चा गर्दै कलाकारहरु राजनीतिमा पनि सक्रिय हुनु पर्ने बताए ।

पुरस्कार तथा सम्मानका लागि आयोजक संस्था परिवर्तन नेपालका केन्द्रीय अध्यक्ष मोहन निरौला, हरितारा चलचित्र चलचित्र पुरस्कारका संरक्षक मनोज शम्शेर, गीतकार तथा डिजाइनर सुन्दर श्रेष्ठ र सञ्चारकर्मी–गीतकार शान्तिप्रियको निर्णायक समितिले नाम चयन गरेको हो ।