सुवेदीको ‘गहना’ मा नरेन र सायाको द्धन्द्ध


ब्युटी न्युज नेपाल
काठमाडौं, २५ भदौ

पत्रकार तथा चलचित्र निर्देशक लक्ष्मण सुवेदीले आफ्नो नयाँ लघु चलचित्र ‘गहना’ दर्शकमाझ ल्याएका छन् । उनले यो फिल्मलाई युट्युव च्यानल एक्शन कट नेपालमार्फत सार्वजनीक गरेका हुन् । यो सर्ट फिल्ममा अभिनेता नरेन खड्का, साया भण्डारी र पुरन थापाको मुख्य भूमिका छ ।

नजिकीदै गरेको हरितालिका तीजलाई मध्येनजर गरिएको ‘गहना’ मा बेरोजगारी, आर्थिक अभाव र सामाजीक देखासिकीको पाटोलाई निकै सशक्त रुपमा प्रस्तुत गरिएको छ । गहना नहुदा माइत जान नसकेकी पत्नीका लागि पतिले कतिसम्म जोखिम मोल्न तयार हुन्छ भन्ने कुरा यो चलचित्रमा देखाइएको छ । नरेन र सायाबीचको द्धन्द्ध यो फिल्मको प्रमुख पाटो हो ।

गहनाले झपक्कै भएर माइत जानुपर्ने, जोरीपारीलाई देखाउनै पर्ने नेपाली समाजमा बिद्यमान सोचले गर्दा कतिसम्म समस्या आउछ भन्ने कुरालाई स्पष्ट रुपमा चलचित्रले प्रस्तुत गरेको छ । पहिलो भागमा प्रचुर मात्रामा सस्पेन्स छोडिएको चलचित्र तेश्रो भागसम्म निर्माण हुने जानकारी निर्देशक सुवेदीले दिएका छन् ।

करिब ३२ मिनेट लामो ‘गहना’ मा एक जोडी पतिपत्नीको घरायसी समस्यालाई मुख्य बिषय बनाइएको छ । चलचित्रको स्क्रिप्ट पनि निर्देशक सुवेदी आफैले लेखेका हुन् । बिमल ढकालले खिचेको चलचित्रको मुख्य सहायक निर्देशक बिनय पौडेल छन् । ललीतसिंह साउदले सम्पादन गरेको चलचित्रमा बिनोद भुजेलको पाश्र्वसंगीत छ । दिलासा कृएसनको ब्यानरमा निर्मित फिल्मको निर्मातामा श्रीदेवी, दिलासा र सारा सुवेदी छन ।