ब्युटी न्युज नेपाल
काठमाडौं, १७ भदौ
अभिनेत्री तथा मोडल निशा घिमिरेको उपचारको क्रममा काठमाडौंको थापाथली स्थित नर्भिक अस्पतालमा बुधबार साँझ ६ः५१ बजे मृत्यु भएको छ ।
थुपै म्युजिक भिडियो तथा टेली चलचित्रमा अभिनय गरेकी उनी सानो पर्दाकी कुशल नायिकाको रुपमा परिचित थिईन् । ललितपुर निवासी उनको पशुपति स्थित आर्यघाटमा अन्त्यष्टी गरिएको छ । निशा संरक्षण कोषले बिहिबार बिहान ८ देखि ९ बजेसम्म पशुपति क्षेत्रमा अन्तिम श्रद्धाञ्जली कार्यक्रम राखेको थियो । चलचित्रकर्मी, शुभचिन्तक तथा आफन्तले पशुपति पुगेर उनको पार्थिव शरीरमा अन्तिम श्रद्धञ्जली अर्पण गरे ।
२०७५ साल पुषमा भारतको देहरादुनमा गाडी दुर्घटनामा परेर टाउकोमा गम्भिर चोट लागेपछि उनलाई सुरुमा त्यही उपचार गरिएको थियो । पछि उनलाई काठमाडौं ल्याएर ट्रमा सेन्टरमा पनि केही समय उपचार गरियो । कोभिडको महामारीको बेला घरमा लगेपछि उनको उपचार हुन सकेको थिएन । गत २७ जेठमा घरबाट उद्धार गरेर नर्भिक अस्पतालले सिसियुमा राखेर निशुल्क उपचार सुरु गरेको थियो ।
नर्भिकमा उपचारको क्रममा स्वास्थ्यमा थोरै सुधार आउँदै गए पनि पछिल्लो समय उनको अबस्था गम्भिर हुँदै गएको थियो । उनलाई सिसियुमा राखेर अक्सिनको सहाराले उपचार गरिदै आएको थियो । घिमिरेको मुटु र मृगौलाले काम गर्न छाडेपछि बुधबार बिहानदेखि अवस्था अझ गम्भीर बन्न पुगेको थियो । उनको बुधबार बेलुका निधन भएको हो ।
उनको उपचार नर्भिकले सित्तै गरेको भए पनि उनको बाँकी जीवन निर्वाहको लागि निशा संरक्षण कोषणा जम्मा गरेर विभिन्न व्यक्तिबाट आर्थिक सहयोग जुटाईएको थियो । तर उनलाई बचाउन नसकिएको परिवार जनले बताएका छन् ।