‘मेगा मोडल–२०१९’मा जोडियो आईआईएफटी


ब्युटी न्युज नेपाल
काठमाडौं, १७ असार

मोडलिङ र फेसनसम्बन्धी रियालिटी शो ‘मेगा मोेडल–२०१९’ अब सुरु हुने भएको छ । यो ‘मेगा मोडल’को सिजन–४ बारे आयोजक इमेज च्यानलले पत्रकार सम्मेलन गरी जानकारी गराएको हो ।

यसअघि मेगा मोडलको पहिलो संस्करण सन् २००८ मा स्वस्तिका राजभण्डारी, २०१० (सिजन–२)मा रश्मिता महर्जन र २०१५ मा (सिजन–३)मा अनुज्ञा चन्द विजेता बनेका थिए । यो चौथो संस्करण हो ।

सन् २००८ देखि ईमेज च्यानलले ग्ल्यामर, फेशन र मोडलिङ क्षेत्रको वृद्धिविकास र ग्ल्यामर क्षेत्रमा रुचि राख्ने युवतीहरुलाई ‘प्लेटफर्म’ प्रदान गर्ने उद्देश्यले प्रारम्भ गरेको ‘मेगा मोडल’को यस सिजनमा इन्टरनेशनल इन्ष्टिच्युट अफ फेसन टेक्लोलोजी ‘आईआईएफटी’ र आकामा होटल पनि जोडिएका छन् ।

धुम्बाराहीस्थित आकामा होटलमा मंगलबार पत्रकार सम्मेलन गरी त्रिपक्षीय सम्झौता भएको छ । सम्झौता पत्रमा आकामा होटलको तर्फबाट महाप्रबन्धक राजु श्रेष्ठ, ‘आईआईएफटी’का तर्फबाट अध्यक्ष शर्मिष्ठा श्रेष्ठ र आयोजक ईमेज च्यानलको तर्फबाट कार्यकारी निर्देशक पुजा मानन्धरले हस्ताक्षर गरे । कार्यक्रममा होटलका मार्केटिङ एण्ड शेल्सका निर्देशक कौशल सिंह, आईआईएफटीका प्रमुख कार्यकारी अधिकृत नाजिर हुसैन, कार्यकारी निर्देशक राजु सुवाललगायतका व्यक्तित्वहरु रहेका थिए ।

ईमेज च्यानलबाट प्रसारण हुने रियालिटी शो ‘मेगा मोडल–२०१९’का लागि आईआईएफटीका तर्फबाट विभिन्न राउण्डका लागि ड्रेस डिजाइन गर्नेछ । जसमा आईआईएफटीकै विद्यार्थीको फेसन क्रियशन रहने उक्त संस्थाका प्रबन्ध निर्देशक फूपु तेन्जिङ शेर्पाले बताए । बागबजार र ललितपुरको कुमारीपाटीमा रहेको ‘आईआईएफटी’ले विगत केही वर्षयता फेसन डिजाइनिङसम्बन्धी अध्यापन गराउँदै आएको छ ।

त्यस्तै, ‘मेगा मोडल’सँग जोडिन आएका आकामा होटल हालै सञ्चालनमा आएको चार तारे होटल हो । चाँडै नै ‘मेगा मोडल–२०१९’का लागि अडिसन सुरु हुने पत्रकार सम्मेलनमा जानकारी गराइयो । अडिसन काठमाडौंकासाथै पोखरा, धरान, चितवनलगायतका मुख्य–मुख्य सहरमा हुने बताइएको छ ।