ब्युटी न्युज नेपाल
काठमाडौँ, २२ असोज
निर्देशक दीपेन्द्र के खनालले अभिनेता खगेन्द्र लामिछाने र अभिनेत्री सुरक्षा पन्तलाई मुख्य भूमिकामा लिएर नयाँ चलचित्र ‘श्रीमान् श्रीमती’ निर्माण गरिरहेका छन्। कुनै औपचारिक घोषणा नगरी छायांकन सुरु गरिएको यस चलचित्रको काम अहिले अन्तिम चरणमा पुगेको छ।
काठमाडौँका विभिन्न स्थानमा छायांकन भइरहेको चलचित्रको बाँकी काम करिब एक साताभित्र पूरा हुने निर्देशक खनालले जानकारी दिएका छन्। निर्माण टोलीले चलचित्रको छायांकनलाई गोप्य राख्दै काम अघि बढाएको हो।
यो चलचित्रको गीत बाहेक सम्पूर्ण छायांकन २० दिनमा सकिएको छ । यसको अब गीतको छायांकन सुरु गर्ने निर्माण पक्षले जनाएको छ ।
पटकथा प्रोडक्सन र टुकी आर्ट्सको प्रस्तुतिमा निर्माण भइरहेको ‘श्रीमान् श्रीमती’ पारिवारिक कथामा आधारित चलचित्र हो। सामाजिक तथा गम्भीर विषयवस्तुलाई पर्दामा उतार्दै आएका निर्देशक खनालले यसपटक भने पारिवारिक सम्बन्ध र दर्शकको भावनासँग जोडिने कथालाई प्राथमिकता दिएका छन्।
निर्देशक खनालका अनुसार चलचित्रमा दर्शकले आफ्नै जीवन र परिवेशसँग जोडेर हेर्न सक्ने मिठो कथा प्रस्तुत गर्ने प्रयास गरिएको छ। इमानदार प्रयासबाट निर्माण गरिएको चलचित्र दर्शकले रुचाउने विश्वास पनि उनले व्यक्त गरेका छन्।
“दर्शकले मन पराउने मिठो कथामा सिनेमा बन्दैछ। आशा छ, दर्शकले मन पराउनुहुनेछ,” खनालले भने, “हामीले इमानदार भएर सिनेमा बनाउने हो। पक्कै पनि इमानदार बनेर बनाइएको सिनेमा दर्शकको रोजाइमा पर्छ।”
चलचित्रको प्रदर्शन मिति भने निर्माण पक्षले सार्वजनिक गरेको छैन। छायांकन सम्पन्न भएपछि चलचित्रको उत्तरकार्य अर्थात् पोस्ट प्रोडक्सनको काम अघि बढाइनेछ।
निर्देशक खनालको पछिल्लो प्रदर्शनमा आएको चलचित्र ‘हरिबहादुरको जुत्ता’ हो। यसैगरी, उनले ‘क्याप्टेन साब’को छायांकनसमेत सम्पन्न गरिसकेका छन्। उक्त चलचित्र प्रदर्शनमा आउन बाँकी छ।








