‘छ माया छपक्कै २’को ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ असोज

बहुप्रतीक्षित चलचित्र ‘छ माया छपक्कै २’को दोस्रो गीत ‘मायामा एक्सपायरी डेट हुँदैन’ सार्वजनिक गरिएको छ । प्रेमभावले भरिएको गीतले चलचित्रका प्रमुख पात्रबीचको सम्बन्धसँगै कथामा देखिने त्रिकोणात्मक प्रेमको संकेत गरेको छ ।

सविन सुवेदी र सहिमा श्रेष्ठको स्वरमा रहेको गीतमा राजेन्द्र थापाको शब्द तथा दीपक शर्माको संगीत रहेको छ । रोमान्टिक भावको गीतको भिडियोमा चलचित्रका मुख्य कलाकार दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईलाई प्रस्तुत गरिएको छ ।

गीतको भिडियोमा दीपकराज र केकीलाई श्रीमान्–श्रीमतीको भूमिकामा देखाइएको छ । उनीहरूबीचको प्रेमिल सम्बन्धका दृश्यसँगै सनिशाको प्रवेशले भिडियोमा नयाँ मोड सिर्जना गरेको छ । भिडियोले तीन पात्रबीचको सम्बन्ध र त्यसले निम्त्याउने परिस्थितिप्रति दर्शकमा कौतुहलता जगाउने प्रयास गरेको छ ।

किरण थापाको कोरियोग्राफी रहेको गीतको भिडियोले चलचित्रको कथाबारे केही संकेत गरे पनि वास्तविक कथा भने निर्माण टिमले गोप्य राखेको छ । त्रिकोणात्मक प्रेमको झल्को दिने भिडियोमार्फत चलचित्रप्रति दर्शकको उत्सुकता बढाउने प्रयास गरिएको छ ।

चलचित्र निर्माण टिम आफ्ना कथामा आउने ट्विस्टलाई अन्तिमसम्म गोप्य राख्न परिचित रहेकाले ‘मायामा एक्सपायरी डेट हुँदैन’ गीतले देखाएको सम्बन्धको वास्तविकता के हो भन्ने कुरा चलचित्र प्रदर्शनपछि मात्रै खुल्नेछ । ‘छ माया छपक्कै २’ असोज ३१ गते फूलपातीको अवसर पारेर प्रदर्शनमा आउने तयारीमा छ ।

आमा सरस्वती मुभिज, रोहित अधिकारी फिल्म्स र आइएमीको संयुक्त प्रस्तुतिमा निर्माण भएको चलचित्रलाई दीपेन्द्र लामाले निर्देशन गरेका हुन् । निर्देशक लामा र दीपकराज गिरीको कथा रहेको चलचित्रको पटकथा तथा संवाद दीपकराज गिरीले तयार पारेका छन् ।

चलचित्रमा दीपकराज गिरी, केकी अधिकारी र सनिशा भट्टराईसँगै कर्मा, रिहान गिरी, मेक्सम गौडेल, रमा थपलिया, प्रकाश घिमिरे, निर्मल शर्मालगायत कलाकारको अभिनय रहेको छ । चलचित्रमा दीपाश्री निरौला सल्लाहकारका रूपमा जोडिएकी छन् ।

निर्मल शर्मा र सुरज बम ठकुरी चलचित्रका कार्यकारी निर्माता हुन् । निर्माण टिमले यसअघि सार्वजनिक गरेको सामग्रीबाट चलचित्रमा हास्य, पारिवारिक सम्बन्ध र प्रेमसँगै अप्रत्याशित घटनाक्रमलाई कथाको हिस्सा बनाइएको संकेत गरेको छ ।