ब्युटी न्युज नेपाल
काठमाडौँ, १५ असोज
लोकप्रिय नेपाली ब्यान्ड नेपथ्यले दक्षिण कोरियाको सफल सांगीतिक यात्रापछि अब संयुक्त अरब इमिरेट्स (यूएई)को दुबईमा प्रस्तुति दिने भएको छ। दसैँको सँघारमा दुबईमा रहेका नेपाली दर्शकलाई लक्षित गर्दै नेपथ्यले आगामी अक्टोबर ४ अर्थात् असोज १८ गते आइतबार सांगीतिक कार्यक्रम गर्न लागेको हो।
दुबईको इन्टरनेट सिटीस्थित ‘द एजेन्डा’ हलमा हुने कन्सर्ट नेपथ्यको दुबई यात्रा क्रममा चौथो प्रस्तुति हुनेछ। यसअघि ब्यान्डले ‘अल नासेर लेजरल्यान्ड’मा तीनवटा कन्सर्ट गरेको थियो। यसपटक भने थप व्यवस्थित र स्तरीय प्रस्तुति दिन आधुनिक सुविधासम्पन्न नयाँ हल रोजिएको आयोजकले जनाएको छ।
दुबईमा ठूलो संख्यामा नेपालीको बसोबास रहेकाले दसैँको पूर्वसन्ध्यामा हुने नेपथ्यको प्रस्तुति नेपाली समुदायका लागि विशेष बन्ने अपेक्षा गरिएको छ। नेपालयका किरणकृष्ण श्रेष्ठले यसपटक कार्यक्रम स्थल, ध्वनि प्रणाली र प्रस्तुतिका विभिन्न पक्षमा विशेष ध्यान दिइएको बताए।
नेपथ्यका लागि दुबईसँग पुरानो सांगीतिक सम्बन्धसमेत छ। सन् २०१५ मा पहिलोपटक दुबई पुगेको ब्यान्डले त्यहाँको प्रस्तुतिबाट प्राप्त रकम भूकम्पपीडितको सहयोगार्थ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरेको थियो। त्यसपछि सन् २०२२ मा कोभिड महामारीपछिको पहिलो विदेश भ्रमणसमेत दुबईबाटै सुरु गरेको थियो।
यसपटकको कन्सर्टमा दर्शकलाई नचाउने र सँगै गाउन प्रेरित गर्ने लोकप्रिय गीतलाई प्राथमिकतामा राखिएको ब्यान्डका मुख्य गायक अमृत गुरुङले बताएका छन्। अमृतलाई ड्रममा ध्रुव लामा, बेस गितारमा सुविन शाक्य, गितारमा नीरज गुरुङ, मादलमा शान्ति रायमाझी र किबोर्डमा दिनेशराज रेग्मीले साथ दिनेछन्।
दुबईमा हुने अघिल्ला नेपथ्य कन्सर्टमा आबुधाबी, शारजहाँ र रस अल खैमाहलगायतका स्थानबाट समेत नेपाली दर्शक सहभागी हुँदै आएका थिए। यसपटक पनि उल्लेख्य सहभागिता हुने आयोजकको अपेक्षा छ।






