पल र अञ्जनाले सुरु गरे ‘यानीमाया’को छायांकन, फागुन ७ मा रिलिज


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ साउन

अभिनेता पल शाहको निर्माणमा तयार हुन लागेको नयाँ नेपाली फिल्म ‘यानीमाया’को छायांकन सुरु भएको छ । शुक्रबार काठमाडौंको गागलफेदीस्थित फिल्म स्टुडियोमा शुभसाइत गर्दै फिल्मको छायांकन थालिएको हो । निर्माण पक्षका अनुसार फिल्मको छायांकन ३५ दिनमा पूरा गर्ने लक्ष्य राखिएको छ ।

छायांकन सुरु गर्नुअघि निर्माण टोलीले पूजाआजा गर्दै शुभसाइत गरेको थियो । शुभसाइतपछि कलाकार तथा प्राविधिक टोलीले फिल्मको पहिलो चरणको छायांकन सुरु गरेको हो ।

 फिल्ममा पल शाह र अञ्जना मगर मुख्य भूमिकामा देखिनेछन् । उनीहरूसँगै शिशिर वाङ्देल, गजित विष्ट, लोकेन्द्र लेखक, अङ्कित खड्का, राज थापा, कर्मा लामा, संगीता थापा, विशाल पुलामी, नारायणी खत्रीलगायत कलाकारको अभिनय रहनेछ । शान्न अधिकारी र मोनिका भण्डारी बाल कलाकारका रूपमा प्रस्तुत हुनेछन् ।

चन्द्र ज्योती आले र पल शाहको लगानीमा निर्माण हुने फिल्ममा नवराज उप्रेतीले छायांकन निर्देशक (डीओपी)को जिम्मेवारी सम्हाल्नेछन् । कुमार महर्जनको एक्सन, गिरिराज घिमिरेको मुख्य सहायक निर्देशन र भूपेन्द्र अधिकारीको सम्पादन रहनेछ । ओम प्रतीकको लेखन तथा निर्देशनमा बन्न लागेको ‘यानीमाया’ सामाजिक प्रेमकथामा आधारित फिल्म हो ।

निर्माण पक्षका अनुसार फिल्मको छायांकन काठमाडौंमा करिब १० दिन गरिनेछ । त्यसपछि टोली पर्वततर्फ प्रस्थान गर्नेछ । काठमाडौं र पर्वतका विभिन्न स्थानमा फिल्मका महत्वपूर्ण दृश्यहरू छायांकन गरिने जनाइएको छ ।

निर्माता तथा अभिनेता पल शाहले फिल्म निर्माणमा आफूलाई छुट्टै अनुभव भइरहेको बताए । निर्माणमा प्राप्त अनुभवलाई उपयोग गर्दै दर्शकका लागि उत्कृष्ट फिल्म प्रस्तुत गर्ने आफ्नो प्रयास रहने उनको भनाइ छ । ‘यानीमाया’लाई आगामी फागुन ७ गतेदेखि देशव्यापी प्रदर्शनमा ल्याउने निर्माण पक्षले घोषणा गरेको छ ।

विशाल कार्कीले निर्माण व्यवस्थापन सम्हाल्ने फिल्ममा रेनिश फागोको कलर सम्पादन, राजु लामा र सञ्जु ढकालको मेकअप तथा हेयर र आशिष पौडेलको पोशाक डिजाइन रहनेछ ।