ब्युटी न्युज नेपाल
काठमाडौँ, २८ साउन
निर्देशक सुदर्शन थापाले नयाँ नेपाली चलचित्र ‘शुभ विवाह’ निर्माण गर्ने घोषणा गरेका छन्। बिहीबार आयोजित पत्रकार सम्मेलनमार्फत चलचित्रका कलाकार तथा प्राविधिक टोली सार्वजनिक गर्दै निर्माण घोषणा गरिएको हो।
प्रियादर्शन फिल्मस्को ब्यानरमा निर्माण हुने चलचित्रमा अभिनेता प्रदीप खड्का र अभिनेत्री सनिशा भट्टराई मुख्य भूमिकामा देखिनेछन्। चलचित्रको निर्माण सुप्रिया कटुवालले गर्नेछिन् भने साम भुजेल कार्यकारी निर्माता छन्। रोमान्टिक कथावस्तुमा आधारित चलचित्रमा हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण ढुङ्गाना, विशाल पहारी, अन्शु महर्जन, बिन्दा खतिवडा, अनिता बस्नेत, मेक्सम गौडेल, सन्तोष थापा, सुनिशा बजगाईं, आश्मा गिरी, रामेश्वर रिजाल, सुहान श्रेष्ठ र रमेश बज्राचार्यलगायत कलाकारको अभिनय रहनेछ।
निर्देशक थापा र अभिनेता खड्काले यसअघि ‘प्रेम गीत’मा सहकार्य गरेका थिए। सफल मानिएको उक्त चलचित्रपछि यो जोडी पुनः एकसाथ देखिन लागेको हो।
चलचित्रको कथा प्रदीप श्रीवास्तवले लेखेका हुन् भने पटकथा तथा संवाद रामशरण पाठकको छ। संगीत अर्जुन पोखरेल र पार्श्वसंगीत रेभन आरती सिंहको रहनेछ। राजेश श्रेष्ठले छायांकन, मिलन श्रेष्ठले सम्पादन तथा राजेन्द्र मोक्तानले कलर ग्रेडिङको जिम्मेवारी सम्हाल्नेछन्।
त्यस्तै, नृत्य निर्देशन विक्रम स्वार, ट्रेलर सम्पादन साहिल खान, ध्वनि मनोज लामा, कला निर्देशन रोशन दिवाना र प्रोडक्सन म्यानेजर सुदीप ढकाल रहेका छन्। शृङ्गार सरोज पाण्डे, हेयर डिजाइन सरस्वती श्रेष्ठ तथा ‘बिहाइन्ड द सिन्स’ निरज पन्थीले सम्हाल्नेछन्। पोसाक सुशीला केसी र आकृति पन्तले तयार पार्नेछन्।
चलचित्रको छायांकन छिट्टै सुरु गर्ने तयारीमा निर्माण पक्ष रहेको छ। ‘शुभ विवाह’ आगामी फागुन २१ गते नेपालभर प्रदर्शनमा आउने घोषणा गरिएको छ।



