ब्युटी न्युज नेपाल
काठमाडौँ, २७ साउन
लोकदोहोरीसम्बन्धी कार्यक्रम “लोक दोहोरी च्याम्पियन” आगामी असोज ३ गतेदेखि दर्शकमाझ आउने भएको छ। रगोन स्टुडियो प्रा.लि.को ब्यानरमा निर्माण भइरहेको कार्यक्रमको उद्देश्य, निर्माण टोली, निर्णायक मण्डल तथा प्रसारणसम्बन्धी जानकारी सार्वजनिक गर्न पत्रकार भेटघाट कार्यक्रम आयोजना गरिएको हो।
नेपाली मौलिक लोकदोहोरीको संरक्षण तथा प्रवद्र्धनसँगै नयाँ प्रतिभालाई अवसर प्रदान गर्ने उद्देश्यले कार्यक्रम निर्माण गरिएको कार्यक्रम प्रमुख अनुपम गौतमले जानकारी दिए। उनका अनुसार कार्यक्रमले लोकदोहोरी क्षेत्रमा रहेका प्रतिभाको खोजी गर्दै उनीहरूलाई राष्ट्रिय स्तरको मञ्च उपलब्ध गराउनेछ।
कार्यक्रमको निर्देशन चलचित्र निर्देशक माधवराज खरेलले गर्नेछन्। निर्णायक मण्डलमा वरिष्ठ गायक तथा सर्जक पुरुषोत्तम न्यौपाने, रीता थापा मगर, पशुपति शर्मा र अमृत खाती रहेका छन्। कार्यक्रमको सञ्चालन कमेडियन तथा कलाकार दिनेश काफ्ले र गायिका इप्सल सञ्ज्यालले गर्नेछन्।
कार्यक्रम व्यवस्थापनको जिम्मेवारी गायक रामप्रसाद अवस्थीले सम्हाल्नेछन्। प्रतियोगी संयोजकमा गायक तथा सर्जक दीपक खड्का, संगीत निर्देशकमा राजु ढकाल, मेन्टर/कोचमा शिव हमाल र प्रोडक्सनमा गिरिराज ढकाल रहेका छन्।
त्यस्तै, छायांकन निर्देशन हेमन्त कटुवालले गर्नेछन् भने गायक तथा सर्जक शिरिश देवकोटालाई ब्रान्ड एम्बेसडर र सुवास केसीलाई कार्यक्रम परामर्शदाताका रूपमा अनुबन्ध गरिएको छ। आयोजकका अनुसार “लोक दोहोरी च्याम्पियन” ले नेपाली लोकदोहोरीको मौलिकता जोगाउँदै नयाँ पुस्ताका प्रतिभालाई स्थापित गराउने लक्ष्य लिएको छ।



