ब्युटी न्युज नेपाल
काठमाडौँ, १८ साउन
नेपाली अभिनेत्री अदिती बुढाथोकी पछिल्लो समय बलिउड तथा दक्षिण भारतीय चलचित्रमा सक्रिय छिन् । यसै क्रममा आफ्नो सक्रियतालाई निरन्तर विस्तार गर्दै अभिनेता जहीर इकबालसँग उनले नयाँ म्युजिक भिडियो ‘फरिश्ता’ मा अभिनय गरेकी छिन् । यो गीतको भिडियो यति बेला सार्वजनिक भएको छ।
भिडियोमा दुवै कलाकारबीचको रोमान्टिक प्रस्तुतिले दर्शकको विशेष ध्यान तानेको छ भने सार्वजनिक भएको छोटो समयमै यसले १९ लाखभन्दा बढी भ्यु प्राप्त गरेको छ । चर्चित बलिउड अभिनेत्री सोनाक्षी सिन्हाका श्रीमान् जहीर इकबालसँग अदिती पहिलोपटक स्क्रिनमा देखिएकी हुन्। फिल्मी शैलीमा निर्माण गरिएको भिडियोमा उनीहरूको भावपूर्ण अभिनय, आकर्षक केमेस्ट्री र मनमोहक दृश्य संयोजनले भिडियोलाई थप प्रभावशाली बनाएको छ ।
गायक कमल खानको स्वर रहेको ‘फरिश्ता’लाई निर्देशक फरहाद साम्जीले निर्देशन गरेका हुन्। समुद्री तटका रमणीय दृश्यमा छायांकन गरिएको भिडियोमा प्रेम, भावना र सौन्दर्यलाई कलात्मक ढंगले प्रस्तुत गरिएको छ, जसले दर्शकबाट सकारात्मक प्रतिक्रिया पाइरहेको छ।
अदिती पछिल्लो समय नेपाली चलचित्रसँगै भारतीय म्युजिक भिडियो र अन्य परियोजनामा पनि निरन्तर सक्रिय रहँदै आएकी छन्। ‘कृ’ र ‘बाबरी’ जस्ता नेपाली चलचित्रबाट आफ्नो अभिनय क्षमता स्थापित गरिसकेकी उनले भारतीय डिजिटल प्लेटफर्ममा पनि उल्लेखनीय सफलता हासिल गरेकी छन्। ‘फरिश्ता’मार्फत बलिउडमा उनको बढ्दो उपस्थितिले अन्तर्राष्ट्रिय मनोरञ्जन क्षेत्रमा नेपाली कलाकारको प्रतिनिधित्वलाई थप अघि बढाएको छ ।



