ब्युटी न्युज नेपाल
काठमाडौं, ५ साउन
गायिका नीता आचार्यको नयाँ गीत ‘म हुँ सृष्टिको फक्ताङलुङ’ सार्वजनिक भएको छ। गीतको भिडियोमार्फत लामो समयदेखि अभिनयबाट टाढा रहेकी अभिनेत्री मौसमी मल्ल पुनः दर्शकमाझ देखिएकी छन्। नेपाली कला, संस्कृति र इतिहासलाई समेट्ने शैलीमा तयार गरिएको भिडियोमा मौसमीको प्रस्तुतिलाई विशेष आकर्षणका रूपमा राखिएको छ।
गोविन्द राईको निर्देशनमा निर्माण भएको भिडियोमा मौसमी मल्ल विभिन्न ऐतिहासिक तथा सांस्कृतिक पात्रका रूपमा प्रस्तुत भएकी छन्। नेपाली मौलिक भेषभूषामा उनको अभिनयले गीतलाई थप जीवन्त बनाएको निर्माण टोलीको विश्वास छ। प्राकृतिक सौन्दर्यले भरिपूर्ण रमणीय स्थानमा छायांकन गरिएकाले भिडियो दृश्यात्मक रूपमा पनि आकर्षक बनेको बताइएको छ।
गीत सार्वजनिक भएसँगै मौसमी मल्लले सामाजिक सञ्जालमार्फत आफू नेपालमै रहेको जानकारी दिँदै दर्शकलाई भिडियो हेरेर प्रतिक्रिया दिन आग्रह गरेकी छन्। उनका अनुसार लामो अन्तरालपछि संगीत भिडियोमार्फत दर्शकसँग पुनः जोडिन पाउँदा आफू उत्साहित छिन्।
गीतमा मनु लोहोरुङ राईको शब्द रहेको छ भने संगीत तथा एरेञ्ज साज सिंहले गरेका हुन्। सुरज प्रधानले गीतको रेकर्डिङ गरेका छन्। भिडियोको छायांकन हिमाल श्रेष्ठले गरेका हुन् भने डिओपीको जिम्मेवारी सौरभ लामाले सम्हालेका छन्।
यसैगरी, भिडियो सम्पादन सन्देश शाहले गरेका छन् भने कलरिङ राजेन्द्र मोक्तानले गरेका हुन्। भिडियोमा सत्यम रानाको भिएफएक्स प्रयोग गरिएको छ भने ड्रोन छायांकन विशालले गरेका छन्। आधुनिक प्रविधि र मौलिक विषयवस्तुको संयोजनले तयार गरिएको यो भिडियो अहिले नीता आचार्यको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। निर्माण पक्षले गीत र भिडियो दुवैले दर्शकबाट सकारात्मक प्रतिक्रिया प्राप्त गर्ने विश्वास व्यक्त गरेको छ।

