यी कारणले चलचित्र एक्टरः टेक वानको रिलिज सर्यो


‘यतिबेला रिलिज भएका चलचित्र तिहारमा अजय देवगणको बलिउडको निकै बलियो फिल्म सिँगम ३, कार्तिक आर्यन र बिधा बालनको अर्को प्रभावशाली हिन्दी चलचित्र भुल भुलैया ३ पनि रिलिज हुँदैछ । यता यो साताबाट दोश्रो हप्तामा प्रदर्शन भईरहेको चलचित्रहरु छक्का पञ्जा ५, १२ गाउँको व्यापार झन बढेको र ज्वाईं साबले पनि राम्रो व्यापार गरेकाले पनि तिहारमा चलचित्र एक्टर रिलिज गर्न व्यबसायिक जोखिम भएकाले यो चलचित्र सारिएको देखिन्छ । ‘

………………………………………………………………………………………………………………………………………………………

सरिता भारती/ब्युटी न्युज नेपाल
काठमाडौं, १ कात्तिक

यही १५ कात्तिक लक्ष्मी पुजामा रिलिज हुने भनिएको नेपाली चलचित्र ‘एक्टरः टेक वन’ को प्रदर्शन मिति सरेको छ । अब यो चलचित्र १६ माघ अर्थात पूर्व रिलिज मिति भन्दा दुई महिनापछि मात्र रिलिज हुने भएको छ । निर्माण पक्षले बिहिबार एक बिज्ञप्ति जारी गर्दै यो चलचित्र रिलिज मिति सारिएको घोषणा गरेको छ । चलचित्र एक्टरमा प्रदीप खड्का, राज बल्लभ कोईराला, आना शर्मा, दिब्य रायमाझीसहितको शिर्ष भूमिका रहेको छ ।

मानवीय र प्राविधिक समस्याका कारण १५ कात्तिकमा यो चलचित्र रिलिज गर्न नसकिएको निर्माण पक्षले जनाएको छ । चलचित्रलाई १६ गते बुधबारको दिन प्रदर्शन गरिने पनि निर्माण पक्षले जनाएको छ ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ।

तर चलचित्रको रिलिज मिति सार्नुको अन्य कारणहरु रहेका छन् । यतिबेला रिलिज भएका चलचित्र तिहारमा अजय देवगणको बलिउडको निकै बलियो फिल्म सिँगम ३, कार्तिक आर्यन र बिधा बालनको अर्को प्रभावशाली हिन्दी चलचित्र भुल भुलैया ३ पनि रिलिज हुँदैछ । यता यो साताबाट दोश्रो हप्तामा प्रदर्शन भईरहेको चलचित्रहरु छक्का पञ्जा ५, १२ गाउँको व्यापार झन बढेको र ज्वाईं साबले पनि राम्रो व्यापार गरेकाले पनि तिहारमा चलचित्र एक्टर रिलिज गर्न व्यबसायिक जोखिम भएकाले यो चलचित्र सारिएको देखिन्छ । अर्को तर्फ तिहारमा रिलिज हुने नेपाली चलचित्र पूर्णबहादुरको सारँगीका निर्माता बिनोद पौडेलले आफ्नो चलचित्रसँग एक्टरलाई नजुधाईदिन गरेको अनुरोध र अन्तराष्ट्रिय बजारमा एक्टरलाई वितरणको लागि सहयोग गर्ने बाचा गरेकाले पनि एक्टरको निर्माण पक्षले यो चलचित्रको रिलिलज मिति दुई महिना पछि सारेको हो । किनकी बिनोद पौडेल नेपाली चलचित्रको अन्तराष्ट्रिय वितरक सेभेन सिजका प्रमुख हुन् ।

अर्को तर्फ चलचित्रको प्रचार प्रसारमा पर्याप्त समय नभएको र आफ्नो चलचित्रको रिलिज चेपुवामा पर्ने भएपछि अभिनेता प्रदीप खड्काले पनि निर्माण पक्षले यस पछिको सुरक्षित मितिमा रिलिज गर्दा राम्रो हुने सुझाब दिएको बताईन्छ ।

अब चलचित्र एक्टरको रिलिज मिति सरेपछि तिहारमा नेपालमा नेपाली चलचित्र पूर्णबहादुरको सारँगी मात्र रिलिज हुने भएको छ । पूर्णबहादुरको सारँगीले भने दुई ठुला भारतीय चलचित्रसँग प्रतिस्पर्धा गर्नु पर्ने अबस्था आएको छ ।

एक्टर चलचित्रलाई निर्माता थमन कुमार भण्डारी (अदृत फिल्मस्) र मोती कार्की (मोती फिल्मस्) ले निर्माण गरेका हुन् ।