राजु तामाङको स्वरमा ‘पुरानो घाउ बल्झेछ’ को भिडियो सार्वजनिक


ब्युटी न्युज नेपाल
काठमाडौँ, २९ असोज

गायक राजु तामाङको स्वरमा रहेको गीत ‘पुरानो घाउ बल्झेछ’ को आधिकारिक म्युजिक भिडियो सार्वजनिक भएको छ। सर्जक केवल लामाको शब्द, संगीत तथा निर्माणमा तयार भएको यो गीतले यसअघि नै सामाजिक सञ्जालमा चर्चा बटुलिसकेको छ। बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबीच गीतको भिडियो सार्वजनिक गरिएको हो।

‘द भ्वाइस अफ नेपाल’ सिजन १ मा प्रतिस्पर्धा गरेर चर्चामा आएका राजु तामाङको स्वर रहेको गीतमा कुशल सिंहको एरेन्जमेन्ट छ। गीतको पुनः एरेन्जमेन्ट आमोश तामाङले गरेका हुन्।

भिडियो सार्वजनिक कार्यक्रममा वरिष्ठ संगीतकार सचिन सिंह र सुनिल मास्केलगायतले सर्जक केवल लामाको सांगीतिक योगदानको चर्चा गरे। विदेशमा रहेर पनि लामाले नेपाली गीतसंगीतको क्षेत्रमा निरन्तर योगदान पुर्‍याउँदै आएको उनीहरूले उल्लेख गरे।

केवल लामाको कथा तथा कन्सेप्टमा तयार भएको भिडियो युवराज वाइबाले निर्देशन गरेका हुन्। भिडियोमा बिना राउत, विजय लामा, रुकमान लिम्बुलगायत कलाकारले अभिनय गरेका छन्। प्रेम, माया र बिछोडलाई मुख्य विषय बनाइएको भिडियोमा कलाकारहरूले भावनात्मक अभिनयमार्फत गीतको मर्मलाई प्रस्तुत गरेका छन्।

दीपक गिरीको छायांकन र विकास दाहालको सम्पादन रहेको म्युजिक भिडियो केवल लामाको आधिकारिक युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। मार्मिक शब्द, भावनात्मक गायन र प्रेम तथा बिछोडको कथालाई समेटिएको भिडियो सार्वजनिक भएसँगै गीतले सामाजिक सञ्जालमा पुनः चर्चा पाउन थालेको छ।