काठमाडौँ, १४ असोज
बेलायतमा रहेका नेपाली संगीतप्रेमीलाई लक्षित गर्दै ‘सुम्निमा साँझ’ विशेष सांगीतिक कार्यक्रम आयोजना हुने भएको छ। आगामी अक्टोबर ९ तारिख एल्डरसटस्थित एम्पायर हलमा हुने कार्यक्रममा नेपाली संगीत क्षेत्रका चर्चित कलाकारले प्रस्तुति दिने भएका छन्।
सुम्निमा इभेन्ट, लुङ्टो क्रिएसन, ईफ्लेक्स इन्टरटेनमेन्ट र इनास यूकेको संयुक्त आयोजनामा हुन लागेको कार्यक्रममा गायिका मेलिना राई, ‘द भ्वाइस अफ नेपाल सिजन ६’का उपविजेता रोशन राई, गायक प्रताप दास, गायिका पार्वती राई, सबिना योङहाङ, जानुका राई, अप्सरा घिमिरे तथा अभिनेत्री रजनी गुरुङलगायत कलाकारको प्रस्तुति रहनेछ।
कार्यक्रमको विशेष आकर्षणका रूपमा गायिका तथा कोच मेलिना राई र ‘द भ्वाइस अफ नेपाल’का प्रतियोगी रोशन राई एउटै मञ्चमा प्रस्तुत हुनेछन्। उनीहरूको संयुक्त सांगीतिक उपस्थितिले कार्यक्रमलाई थप विशेष बनाउने आयोजकको अपेक्षा छ।
कार्यक्रम सुशील नेपालले सञ्चालन गर्नेछन्। नेपालबाट सहभागी कलाकारहरूको समन्वय ईफ्लेक्स इन्टरटेनमेन्टका प्रोप्राइटर अजेश पौडेलले गरिरहेका छन्। बेलायतमा व्यवसाय गर्दै आएका सचिन बुढाथोकी र रमेश श्रेष्ठ पनि कार्यक्रमका आयोजकमा रहेका छन्।
‘सुम्निमा साँझ’लाई मनोरञ्जनसँगै सामाजिक उत्तरदायित्वसँग पनि जोडिएको छ। आयोजकका अनुसार कार्यक्रमबाट प्राप्त आम्दानीको ५ प्रतिशत रकम भोटेकोशी तथा रसुवाका बाढीपीडित परिवारलाई सहयोग गरिनेछ। नेपाली संगीत, कला र संस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना हुन लागेको कार्यक्रमले बेलायतमा रहेका नेपाली दर्शक–श्रोतामाझ सांगीतिक माहोल सिर्जना गर्ने आयोजकको विश्वास छ।






