ब्युटी न्युज नेपाल
काठमाडौँ, २१ भदौ
प्रेम, भावना र सम्बन्धका विविध आयामलाई समेटिएको नयाँ नेपाली म्युजिक भिडियो ‘मायालु’ सार्वजनिक भएको छ। ‘मायालु’ म्युजिक भिडियो इन्टर मिडियाको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो। युनिक प्रोडक्सनको प्रस्तुतिमा तयार भएको भिडियोमा सुदीप चापागाईं, कञ्चन परियार र राहुल शाहले अभिनय गरेका छन्।
‘माया, जसले टाढा हुन दिँदैन’ भन्ने भावलाई केन्द्रमा राखिएको गीत तथा भिडियोमा प्रेमसँगै बिछोडका अनुभूतिलाई सिनेमाटिक शैलीमा प्रस्तुत गरिएको छ। प्राकृतिक परिवेशमा खिचिएका आकर्षक दृश्यमार्फत प्रेम सम्बन्धमा आउने उतारचढाव र भावनात्मक अवस्थालाई भिडियोमा देखाइएको निर्माण पक्षले जनाएको छ।
काठमाडौंको थलीस्थित एक किसानको फार्ममा छायांकन गरिएको भिडियोको निर्देशन प्रयास बोहोराले गरेका हुन्। दीपु रिजालको छायांकन रहेको भिडियोमा कथाको भावअनुसार प्राकृतिक दृश्य र पात्रहरूको सम्बन्धलाई प्राथमिकतामा राखिएको छ।
‘मायालु’मा सुजन साम्पाङ र एलिजा प्रधानको स्वर रहेको छ। एलिजे नेवाको शब्द तथा संगीत रहेको गीतमा विश्वोजित लामाको एरेन्जमेन्ट रहेको छ। अविनाश चापागाईंले गीतको मिक्सिङ तथा मास्टरिङ गरेका हुन्। गीत धुन स्टुडियोमा रेकर्ड गरिएको निर्माण पक्षले जनाएको छ।
भिडियोको पोस्ट–प्रोडक्सन इन्टर मिडिया र मनोज शाहले गरेका छन्। निर्माण पक्षले ‘मायालु’ले प्रेम र सम्बन्धसँग जोडिएका भावनालाई दर्शकमाझ प्रभावकारी रूपमा पुर्याउने विश्वास व्यक्त गरेको छ।






