ब्युटी न्युज नेपाल
गोरखा, १६ भदौ
गायिका अञ्जु श्रेष्ठले यस वर्षको तीजका लागि ‘एक वर्षमा एकचोटी’ बोलको गीत सार्वजनिक गरेकी छिन् । हरेक वर्ष तीजको अवसरमा आफ्नो सांगीतिक कोशेली लिएर आउने गरेकी अञ्जुले यसपटक पनि तीजको परम्परालाई निरन्तरता दिएकी हुन् ।
‘एक वर्षमा एकचोटी’ गीतमा दीपक शर्मा र निशान साउदको शब्द रहेको छ भने दीपक शर्माले संगीत दिएका छन् । गीतको मिक्सिङ तथा मास्टरिङ नरेन्द्र वियोगीले गरेका हुन् ।
गीतको भिडियोमा अञ्जु श्रेष्ठ स्वयंले छमछमी नाचेकी छिन् । उनलाई डिम्पल नगरकोटीले साथ दिएकी छन् । भिडियोको कोरियोग्राफी तथा निर्देशन मौसम हिमालीले गरेका हुन् । गीतको निर्माता गंगामाया श्रेष्ठ हुन् ।
गीतको भिडियो दिनेश पराजुलीले छायांकन गरेका हुन् भने मनोज कार्कीले सम्पादन तथा कलर गरेका छन् । भिडियोमा श्रृंगार संगीता मिजारले गरेकी छन् ।
यसपटक तीज गीतको तयारी गरिरहँदा रसुवामा आएको विनाशकारी बाढीका कारण आफू पनि भावनात्मक रूपमा प्रभावित भएको अञ्जुले बताएकी छन् । गीतको तयारी तथा छायांकनसमेत सम्पन्न भइसकेको र खर्च भइसकेकाले परिस्थितिका बीच पनि गीत बजारमा ल्याउनुपरेको उनको भनाइ छ ।
देश संवेदनशील अवस्थामा रहेकाले आफू पनि संवेदनशील रहेको बताउँदै अञ्जुले बाध्यता र परिस्थितिका कारण गीत सार्वजनिक गरेको उल्लेख गरेकी छन् ।






