महाविपद्मा कन्दराको सांगीतिक ऐक्यबद्धता


ब्युटी न्युज नेपाल
काठमाडौँ, १४ भदौ

रसुवालगायतका क्षेत्रमा आएको विनाशकारी बाढीबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अमेरिकाको सांगीतिक यात्रामा रहेको नेपाली ब्यान्ड कन्दराले आफ्नो आगामी कन्सर्टलाई श्रद्धाञ्जली तथा स्मृति कार्यक्रमका रूपमा प्रस्तुत गर्ने भएको छ।

अमेरिकाको एटलान्टामा यही शुक्रबार तय भएको कन्सर्टलाई बाढीपहिरोमा ज्यान गुमाउनेप्रति समर्पित गर्दै ब्यान्डले कार्यक्रमको स्वरूप परिवर्तन गर्ने निर्णय गरेको हो। कन्दराले विपत्तिबाट प्रभावित परिवार र समुदायप्रति ऐक्यबद्धता जनाउँदै मनोरञ्जनभन्दा मानवीय संवेदना र सहयोगलाई प्राथमिकता दिने जनाएको छ।

कन्दराले सामाजिक सञ्जालमार्फत देश शोकमा रहेका बेला आफूहरू पनि पीडित परिवारसँगै रहेको सन्देश दिएको छ। ब्यान्डले ‘देश दुखिरहेको छ, आउनुहोस् हामी एकजुट बनौँ, शोकलाई शक्तिमा बदलौँ र संगीतलाई सेवामा बदलौँ’ भन्ने भावनासहित सबैलाई मानवीय सहयोगमा जोडिन अपिल गरेको छ।

कार्यक्रमबाट सम्भव भएसम्म ठूलो रकम संकलन गरी आकस्मिक राहत कोषमा सहयोग गर्ने कन्दराले जनाएको छ। संकलित सहयोगलाई आवश्यकताअनुसार बाढी प्रभावित तथा पीडित समुदायसम्म पुर्‍याउन पहल गरिने ब्यान्डको भनाइ छ।

कन्दराका संस्थापक तथा गायक विवेक श्रेष्ठले संगीत र मञ्चलाई मानवीय सेवाको माध्यम बनाउने बताएका छन्। उनका अनुसार विपत्तिको समयमा कलाकारको आवाज र संगीतले पीडितप्रति ऐक्यबद्धता जनाउनुका साथै सहयोग जुटाउन पनि भूमिका खेल्न सक्छ।

कन्दराले बाढीमा ज्यान गुमाउने सबैप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गरेको छ। साथै, घाइते तथा विपद्बाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित जीवनको कामना गरेको छ।

कन्दरा गत ७ अगस्टदेखि आगामी ३० सेप्टेम्बरसम्म दुई महिना लामो अमेरिकी सांगीतिक यात्रामा छ। ‘रिदम अफ चेन्ज’ नाम दिइएको टुरअन्तर्गत ब्यान्डले बोस्टनबाट आफ्नो प्रस्तुति सुरु गरेको थियो।

एटलान्टापछि कन्दराले भर्जिनिया र कोलोराडोमा पनि प्रस्तुति दिने कार्यक्रम छ। यी दुवै कार्यक्रममा समेत भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित परिवार तथा समुदायप्रति ऐक्यबद्धता जनाउने ब्यान्डले जनाएको छ।

संगीतलाई केवल मनोरञ्जनको माध्यम नभई विपद्को समयमा सहयोग, सहानुभूति र एकताको सन्देश प्रवाह गर्ने माध्यमका रूपमा प्रयोग गर्ने कन्दराको यो पहलले नेपाली संगीतकर्मीको सामाजिक उत्तरदायित्वलाई समेत उजागर गरेको छ।