ब्युटी न्युज नेपाल
काठमाडौँ, १२ भदौ
गायक तथा मोडल दुर्गेश थापा बाढीपीडितलाई राहत सामग्री वितरण गर्न आफ्नो टिमसहित नुवाकोटको त्रिशूली क्षेत्रतर्फ प्रस्थान गरेका छन्। उनी एक गाडी सिरक–डसना, लत्ताकपडा, बालबालिकाका कपडालगायत आवश्यक राहत सामग्री लिएर प्रभावित क्षेत्रमा पुगेका हुन्।
नुवाकोट जानुअघि सामाजिक सञ्जालमार्फत जानकारी दिँदै दुर्गेशले बाढी–पहिरोबाट प्रभावित नेपालीलाई सहयोग गर्न सबैलाई आ–आफ्नो ठाउँबाट जुट्न आग्रह गरेका छन्। उनले हिजोदेखि नुवाकोटका विभिन्न स्थानबाट लगातार फोन तथा सन्देश आइरहेको र बाढीपहिरोले धेरै परिवारको घरबास, खाद्यान्न तथा दैनिक जीवन तहसनहस भएको खबरले आफूलाई दुःखी बनाएको बताएका छन्।
‘अब धेरै सोच्ने समय छैन, हामी राहतका सामग्री लिएर नुवाकोटतर्फ जाँदैछौँ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सकेसम्म आवश्यक ठाउँसम्म पुगेर लत्ताकपडा, सिरक–डसना, बालबालिकाका कपडा तथा अन्य आवश्यक राहत सामग्री वितरण गर्ने हाम्रो प्रयास रहनेछ।’

आफूसँग धेरै ठूलो सामथ्र्य नभए पनि दुःखमा परेका नेपालीका लागि गरिएको सानो सहयोगले पनि ठूलो आशा जगाउन सक्ने विश्वास उनले व्यक्त गरेका छन्। कलाकारिताको क्षेत्रमा दर्शक तथा शुभेच्छुकले दिएको माया र विश्वासको केही अंश आज विपत्तिमा परेका नेपालीसम्म पु¥याउन पाउँदा आफूलाई भाग्यमानी ठान्ने उनको भनाइ छ।
दुर्गेशले नुवाकोटमा तत्काल राहत आवश्यक परेका स्थानको जानकारी गराउनसमेत आग्रह गरेका छन्। ‘हामी सम्भव भएसम्म त्यहाँसम्म पुग्ने प्रयास गर्नेछौँ,’ उनले भनेका छन्।
उनले विपत्तिमा परेका नेपालीलाई एक्लो नछाड्न सबैलाई अपिल गर्दै भनेका छन्, ‘हामी सबै मिलेर फेरि उठाऔँ—हाम्रो नेपाल।’






