ब्युटी न्युज नेपाल
काठमाडौँ, ३१ साउन
गायक, संगीतकार तथा गीतकार एवं वीर अस्पतालका कन्सल्टेन्ट सिनियर फिजिसियन डा. रणजित कुमार झाको नयाँ प्रेमिल गीत ‘न गाँस्थे म प्रित’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
आइतबार राजधानीको न्यूरोडस्थित रञ्जना हलमा आयोजित कार्यक्रममा अभिनेता, गायक तथा संगीतकार मदनकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यतामा गीत र भिडियो सार्वजनिक गरिएको हो। डा. झाकै शब्द, संगीत र स्वर रहेको गीत ‘जीवन पथ–२’ एल्बममा समावेश छ। गीतको एरेन्ज पबिधान खालिङले गरेका छन् भने किशोर थापाले मिक्सिङ तथा मास्टरिङ गरेका हुन्।
फिल्मी शैलीमा तयार पारिएको गीतको भिडियोमा सोहल्या झा र सुरेश कोहलीले अभिनय गरेका छन्। भिडियोमा प्रेम, आकर्षण र भावनात्मक सम्बन्धलाई प्रस्तुत गरिएको छ। कबिराज गहतराजको निर्देशन, कथा तथा कोरियोग्राफी रहेको भिडियोको छायांकन रामशरण उप्रेतीले गरेका हुन्। मनोज कार्कीले सम्पादन, कलर तथा जीएफएक्स गरेका छन्।
कार्यक्रममा डा. झाले चिकित्सा पेसासँगै संगीतप्रतिको आफ्नो रुचिलाई निरन्तरता दिँदै आएको बताए। निर्देशक गहतराजले गीतले आफूलाई कल्पनामा डुबाएको र त्यही भावनाअनुसार भिडियो तयार गरेको बताए। सोहल्या झाले बुवाको गीतको भिडियोमा काम गर्न पाउँदा खुसी लागेको बताइन्।
कार्यक्रममा गायक राजेशपायल राईले डा. झामा अद्भुत सांगीतिक प्रतिभा रहेको बताए। प्रमुख अतिथि मदनकृष्ण श्रेष्ठले डा. झाको नशा–नशामा संगीत रहेको टिप्पणी गरे।
गीत डा. झाको युट्युब च्यानलसहित विभिन्न डिजिटल तथा म्युजिक स्ट्रिमिङ प्लेटफर्ममा उपलब्ध छ। कार्यक्रममा उनका आगामी गीत ‘साथी तँ रक्सी नखा’ र ‘रातकी रानी’को भिडियो ट्रेलर पनि सार्वजनिक गरिएको थियो।
चिकित्सकका रूपमा २१ वर्षभन्दा लामो सेवा अनुभव बोकेका डा. झाले सप्तरीको कल्याणपुरबाट स्वास्थ्य सेवा सुरु गरेका थिए। उनले विभिन्न अस्पतालमा नेतृत्वदायी जिम्मेवारीसमेत सम्हालिसकेका छन्। तीन दशक लामो सांगीतिक यात्रामा उनले गीत लेखन, संगीत सिर्जना र गायनलाई निरन्तरता दिँदै आएका छन्। स्वास्थ्य तथा संगीत क्षेत्रमा योगदान पुर्याएबापत उनी विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मानबाट सम्मानित भइसकेका छन्।





