९२ बर्षीया आशा भोसलेसँग युगल गीत रेकर्ड गराए मोहन राईले


ब्युटी न्युज नेपाल
काठमाडौं, १ असोज

अग्रज भारतीय गायिका आशा भोसलेले ९२ बर्ष पाको उमेरमा युवा गायक मोहन राईसँग नेपाली गीतमा स्वर दिएकी छिन् । मोहन हालैमात्र मुम्बइमा पुगेर ८४ बर्षीय रन्जित गजमेरको संगीत रहेको ‘यो हाम्रो माया’ गीतलाई आशा र आफ्नो युगल स्वरमा रेकर्ड गराएका छन् ।
रेकर्ड सकेर नेपाल आएका मोहनले भने, ‘ऐतिहासिक र दुर्लभ क्षण बटुलेर फर्किएको छु । गायक कैलाश खेरको कैलाशा स्टुडियो मुम्बईमा गीत रेकर्ड गराउने अवसर मिल्यो । नेपाली गायक गायिकाहरुलाई लागि संभवत यो दुर्लभ क्षण हुनुपर्छ,’ उनले भने,‘आशा दिदीलाई नेपाली संगीतमा भित्र्याउने रंजित गजमेरकै सामिप्यतामा रहेर गीत रेकर्ड गराएका छौं । केही महिनाभित्र सार्वजनिक गर्छौ ।’

राष्ट्रिय भाव र मायाप्रेमका गीत गाउन रुचाउने मोहनले आफ्नो तेस्रो एल्बमका लागि आशा भोसलेसँग गीत गाएका हुन् । आफुले ‘मायाको खेल’ र ‘कस्तो सपना’ पछि नयाँ एल्बमको तयारी गरिरहेको मोहनले बताए । जसका लागि चारवटा गीत तयार भएको बताउँदै उनले भने,‘गीतकारहरुमा बामदेव गौतम, पवन चाम्लिङ, गौरव गुरुङ, टेक तामाङ, अशोक वान्तवा समेटेको छु । संगीतमा रन्जित गजमेर, नरहरी प्रेमी, कन्काइस्ट राईले साथ दिनुभएको छ ।’

मोहनले संगीतमा रुचि राख्ने पूर्वप्रधानमन्त्री झलनाथ खनाल, सिक्किमका पूर्वमुख्यमन्त्री डा.पवन चाम्लिङ(किरण)लगायत नेता, कर्मचारी प्रशासकहरुको गीत गाइसकेका छन् । इलाम निवासी राईले नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवबाट २०७१ सालमा आफ्नो पहिलो एल्बम विमोचनसमेत गराएका थिए । पछि उनी राष्ट्रपति विद्यादेवी भण्डारीबाट जनसेवाश्री राष्ट्रिय विभुषणबाट पनि विभूषित भएका थिए ।