ब्युटी न्युज नेपाल
काठमाडौं, १३ भदौ
नेपाली रक ब्यान्ड ‘झिल्के एण्ड दि कम्पनी (जेएटिसी) ले ‘कान्छी तिम्रो नराम्रो बानी’ गीतको म्युजिक भिडियो सार्वजनिक गरेको छ । सन् २०२२ को एलबम ‘जवानीको जोशको’ यो हिट हो । यो गीतमा व्याण्डका प्रमुख गायक तथा गिटारवादक स्टिभ देवानको शब्द र संगीत छ ।
गीतको अडियोलाई रोहिताज गुरुङले साउन्ड फ्युजन स्टुडियोमा रिमास्टर गरेका छन् । एलबम ब्रोकेन एग स्टुडियोमा रेकर्ड, मिक्स र मास्टर गरिएको हो ।
झिल्के एण्ड दि कम्पनी सन् २०१९ मा स्थापना भएको व्याण्ड हो । यसमा स्टिभ देवान (भोकल र गितार), दिप्सन केसी (ड्रम) र विशाल हाङ राई (बास) छन् ।
पोजिटिभ भाईब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क)द्वारा निर्मित म्युजिक भिडियोको छायाङ्कन भारतको दार्जिलिङमा गरिएको छ । भिडियोमा ब्याण्डका सदस्य स्टिभ, दिप्सन र विशाल साथै भारतीय अभिनेत्री संस्कृति थामीले अभिनय गरेका छन् ।
गायक स्टिभले छोटो समयावधिमा गीतको छायाङ्कन गर्नु आफूहरुको लागि चुनौति भएको बताए । ‘पाँच दिन भित्र सबै कुराको योजना बनाउनु र सुटिङ गर्नु हाम्रो लागि सबैभन्दा ठूलो चुनौती थियो तर दार्जिलिङका स्थानीय, हाम्रो टोली र परिवारको माया र समर्थनले सबै चुनौती पार गर्दै भिडियो तयार पार्यौ’, स्टिभले भने ।
व्याण्डका बासिस्ट विशाल हाङ राईले भिडियो रिलिज गर्न पाउँदा आफूहरु उत्साहित रहेको बताउँदै फ्यानले गीत मनपराइदिएकोमा आभार व्यक्त गरे । त्यस्तै ड्रमर दिप्सन केसीले अघिल्लो गीत ‘१८२’ जस्तै ‘कान्छी तिम्रो नराम्रो बानी’ले पनि त्यस्तै माया पाउनेमा आफूहरु ढुक्क रहेको बताए ।