साउन्ड सिस्टम टेक्निसियनसँग एलिनाले मागिन माफी, अझै बहिष्कार


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ फागुन

युवा युस्ताकी गायिका एलिना चौहान र साउण्ड टेक्निसियनबीचको विवादले चर्को रुप लिएको छ । गायिका एलिनाले माफी माग्दा समेत अझै साउण्ड टेक्निसियन समुह मत्थर भएका छैनन् । आफुहरुमाथि दुव्र्यबहार भएको भन्दै एलिनाको कार्यक्रममा अब साउण्ड सिस्टम नै उपलब्ध नगराउने चेतावनी उनीहरुले दिएका छन् ।

गत आइतबार पर्वतमा आयोजित मगर महोत्सवमा स्टेज पर्फमेन्सका क्रममा आफुहरु माथि अपमान भएको साउण्ड सिस्टम व्यबसायीहरुको भनाई छ । सो कार्यक्रममा साउण्ड सिस्टमको विषयलाई लिएर गायिका चौहान र साउण्ड टेक्निसियनबीच उत्पन्न विवादले यतिबेला सामाजिक सञ्जाल रँगिएको छ ।

यसै क्रममा सो घटनाको बारेमा पोखराका साउन्ड सिस्टम व्यबसायीहरुले खेद प्रकट गरेका छन् । कार्यक्रममा गायिका चौहानले अमर्यादित र अभद्र व्यवहार गरेको भन्दै पोखराका साउण्ड सिस्टम व्यवसायीहरुले आपत्ति जनाएका छन् ।

उनीहरुले शनिबार संयुक्त विज्ञप्ति जारी गर्दै गायिका चौहानले माफी नमागेसम्म उनी उपस्थित हुने कुनै पनि कार्यक्रम तथा ठाउँमा साउण्ड सिस्टम उपलब्ध नगराउने चेतावनी दिएका हुन् । संयुक्त विज्ञप्ति जारी गर्नेमा जिके साउण्ड सिस्टमका संचालक गमबहादुर क्षत्री, एसके साउण्ड लाइट एण्ड म्यूजिक स्टोर्सका शेरबहादुर गुरुङ, साउण्ड गार्डेनका प्रकाश श्रेष्ठ, मञ्जित साउण्ड सिस्टमका मञ्जित जैसवाल, जोजिजू म्युजिक एण्ड साउण्ड सिस्टम सर्भिसका विनित जोजिजू र एविज साउण्ड सिस्टमका एविज गुरुङ हुन् ।

‘आफ्नो गायन प्रस्तुति स्वरका कारण फितलो र फिक्का भएपछि आयोजकले तय गरेको ‘साउण्ड सिस्टम’ लाई दोष दिएर प्रस्तुति दिदाँदिदै झन्कने, रिसाउने, धुर्की लाउने, अपशब्द प्रयोग गर्ने र मपाइत्व देखाउनेजस्ता क्रियाकलापले हामीलाई व्यवसायी र टेक्निसियनलाई गम्भीर आघात पर्नुका साथै अपमानबोध भएको हुँदा भावी दिनमा यसप्रकारका हर्कत नगर्न गायिका एलिना चौहानलाई सचेत गराउँछौं,’ विज्ञप्तिमा भनिएको छ, ‘निज एलिना चौहानले आफ्नो गल्तीको महसुस गरी माफी नमागेसम्म साउण्ड सिस्टम कम्पनी सञ्चालक, साउण्ड इन्जिनियर, टेक्निसियनहरूले एलिना चौहान उपस्थित भएको कुनै पनि कार्यक्रम र ठाउँमा आगामी दिनमा साउण्ड सिस्टम उपलब्ध नगराउने घोषणाको जानकारी समेत गराउँछौं ।’

उनीहरुको यस्तो प्रेस विज्ञप्ति आएपछि गायिका एलिना चौहानले सो कार्यक्रमप्रति माझी मागेकी छिन् । उनले आफ्नो सामाजिक सञ्जालमा यस्तो लेख्दै माफी मागेकी हुन् :

‘ जीवन भनेकै सिकाई र भोगाई त रहेछ। देश तथा विदेशका श्रोता दर्शकको माया नै मेरा लागि अक्सिजन हो। त्यहि कारण म जे छु आज छु। हिजो जस्ती थिए उस्तै छु। सफलता र प्राप्तिले मलाई आफ्नो धरातल कहिल्यै बिर्साएन। बिर्सिने पनि छैन। किनकी मलाई त भुँईबाट उठाएर तपाईंहरुले गायिका बनाउनुभयो।
तपाईंहरुकै मायाले आज देश तथा विदेशका आयोजकहरुले मलाई मञ्च उपलब्ध गराईरहनुभएको छ। त्यसैले पनि पारिश्रमिकलाई महत्व नदिई सकेसम्म म सबै जसो ठाउँमा पुग्ने प्रयास गरिरहेकै छु।
साउण्ड ईन्जिनियर, रेकर्डिष्ट, छाँयाकार, अडियो/ भिडियो सम्पादक सबै पर्दा पछाडीका हिरो हुन। जो हामीलाई दर्शक श्रोता बिच पुर्याउने मुल पात्र नै हुनुहुन्छ भन्ने मैले मसिनो गरि बुझेको छु। म उहाँहरुको सम्मान र स्वाभिमान प्रति सधै सचेत छु।
यति हुदा हुदै पनि गत हप्ता पर्वतको एउटा साङ्गीतिक कार्यक्रममा प्रस्तुतीका लागि पुग्दा त्यहाँ एउटा आकस्मिक घटना हुन पुग्यो, जुन नहुनु पर्ने थियो।
सो घटनामा तत्कालिन समयमा म आवश्यकता भन्दा बढी प्रतिकारात्मक देखिन पुगेका प्रति आत्मालोचना गर्दछु। मञ्चिय प्रस्तुतीका क्रममा साउण्ड ईन्जिनियरबाट हुने गरेका सामान्य कमी कमजोरीलाई माईकबाटै राखिदिने स्वाभावलाई मैले मेरो कमजोरीका रुपमा स्वीकार गर्दछु। आगामी दिनहरुमा म त्यस प्रति चनाखो हुने प्रतिबद्धता व्यक्त गर्दछु। जय गीत, जय संगीत।’

उनको माफीपछि भने साउन्ड सिस्टम सँचालकबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।