भिडियोमा आयो नरेश र सागरको ‘अब अर्को जुनीमा’


ब्युटी न्युज नेपाल
काठमाडौँ, २६ पुष

गायक नरेश बुढाथोकी र सुन्दर मगरले युगल स्वरमा नयाँ गीत ‘अब अर्को जुनीमा’को भिडियो सार्वजनिक गरेका छन् । काठमाडौंमा एक समारोहबीच यो गीतको भिडियो बिहिबार सार्वजनिक गरिएको हो ।

गायक मगरकै शब्द र सङ्गीत रहेको गीतको सार्वजनिक भिडियोमा दिलाशा बस्नेत, सागर लम्साल ‘बले’, सृष्टी तिमल्सिना, शुभम श्रेष्ठ (मिराकल) लगायतले अभिनय गरेका छन् । नेपट्युन इन्टरटेन्मेन्ट एलएलसी नामाक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको गीतको भिडियोमा अमेरिकाको मनोरम दृश्यलाई समेटिएको छ । गीतको भिडियोलाई दिलाशा बस्नेतले निर्माण गरेका हुन् ।

आज आयोजित पत्रकार सम्मेलनमा गायक बुढाथोकी र मगरसहित निर्देशक शिशिर खाती, कलाकार सागर लम्सालसहित गायक दुर्गेस थापाको उपस्थिति रहेको थियो । गीतकार तथा गायक मगरले गीतलाई आधुनिक शैलीमा तयार पारेका बताए । ‘यो गीतले प्रेमभाव व्यक्त गर्नुका साथै जीवनको महत्वलाई दर्शाएको छ । यसले रोमान्टिक फिल दिनुका साथै महत्वपूर्ण कथा पनि व्यक्त गरेको छ’, उनले भने ।

गायक बुढाथोकीले गीतलाई अडियो झैँ भिडियोमा पनि राम्रो बनाइएकोमा निर्देशक र कलाकारसहितको टिमलाई धन्यवाद दिए । ‘अडियोमा झैँ भिडियोमा समेत मेहनत गरिएको छ । यसमा यो जुनीमा बाँकी रहेका ईच्छालाई अर्को जुनीमा पुरा गर्ने भाव व्यक्त गरिएको छ’, गायक बुढाथोकीले भने,‘विदेशमा छायांकन भएता पनि भिडियोलाई उत्कृष्ट बनाउन कुनै कसर बाँकी राखिएको छैन । यो सँगै गरिएका केही सहकार्यहरू अव विस्तारै सार्वजनिक हुनेछन् ।’

भिडियोमा देखिएका कलाकार मध्येका एक कलाकार सागरले पहिलोपटक अमेरिका पुगेर भिडियोमा अभिनय गरेको स्मरण गरे । ‘छ दिनका लागि अमेरिका पुगेर गीतमा अभिनय गरेर फर्किए । संवत यसरी अभिनय गर्ने कलाकार म नै पहिलो होला’, सागरले भने,‘मैले काम गर्दा निर्माण टिमले नेपाल झैँ सहजता दिनुभयो । मैले सक्दो मेहनत गरेको छु ।’

गीतमा उनले गम्भीर भावलाई प्रस्तुत गरेको बताए । सार्वजनिक भिडियोमा हेयर एण्ड मेकअप समिता श्रेष्ठ, कलर राजेन्द्र मोक्तान, सम्पादन मनोज कार्की, गीएफएक्स सन्तोष डिजाइन, निर्देशन र छायांकन शिशिर खातीले गरेका छन् ।