सचिन रौनियारको कालजायी सांगीतिक सृजना ‘औधी माया’


ब्युटी न्युज नेपाल
काठमाडौं, १२ पुष

आफुलाई लामो समयसम्म पप गायकको रुपमा स्थापित गरेका अग्रज गायक सचिन रौनियारको गायकी शैली फेरिएको छ । उनी पछिल्लो समय सुगम सँगीतमा समर्पित भईरहेका छन् । आधुनिक तथा गजल भावका गम्भिर गीतहरु लिएर क्रमश श्रोता दर्शकमाझ उनी आईरहेका छन् । सचिनका पहिल्ला गीतहरु निकै गहकिला र हृदयस्पर्सी हुने गरेका छन् । यसै क्रममा यी गायकले यतिबेला यस्तै गहकिलो भावको गीत ‘औधी माया…’ श्रोता दर्शकमाझ ल्याएका छन् ।

काठमाडौंमा एक समारोहबीच बिहिबार सार्वजनिक गरिएको यो गीत सुनेपछि उनका समकालिन कलाकारहरुले सचिनको स्वरमा अझ निखार आएको र पछिल्लो गीतहरु झन माधुर्य हुन थालेका प्रतिक्रिया दिएका छन् ।

गम्भिर र माधुर्य गीतका सर्जक उदय सोताङको शब्द र संगीतका कारण पनि सचिनको नयाँ गीत औधी मायाँ निकै गहिलो बनेको हो । उदयको शब्द र संगीतलाई यो गीतमा सचिनले आफ्नो स्वरले त्यत्तिकै न्याय गरेका छन् । गीत राम्रो हुन अडियो पनि राम्रो हुनु पर्छ । दिनेश न्यौपानेको मिश्रण र मास्टरिङले पनि गीतलाई प्राविधिक रुपमा राम्रो बनाउन सघाएको छ ।

औधी मायाँबाट श्रोतामा यतिबेला फरक छाप बनाउन सफल यी गायकले पछिल्लो समय आफ्नो गायकीमा परिवर्तन ल्याएका छन् । यो परिवर्तनका बारे सचिनले भने,‘आजकाल गाउने गीतको शब्द त्यत्तिकै उत्कृष्ट हुनुपर्छ र त्यो गीत माधुर्यसँगै कालजायी हुनुपर्छ भन्ने कुरामा मैले बढी ध्यान दिने गरेको छु । क्षणिक भाईरल गीत भन्दा दीर्घायु गीतहरु गाउनु पर्छ भन्ने मान्यता अनुसार नै पछिल्लो समय मैले केही गहन शब्द र भावका गीतहरु ल्याउने गरेको हुँ ।’

हुन त यस अघि उनले श्रोतामाझ ल्याएका ए माया कहाँ छौ कहाँ, झन् झन् बढ्यो याद तिम्रो, छ भनौँ कि छैन भनौँ, यो वनमा छैन क्यारे न्याउली कराउँदिन, आफ्नो मान्छेजस्ता कैयौं लोकप्रिय गीतहरु ल्याएर दर्शकको मन नजितेका हैनन् । तथापि पछिल्लो समय उनले गाउने गीतहरु अझ परिस्कृत भएर आउने गरेका छन् । यसको उदाहरण औधरी मायाँ पनि हो ।

यो गीतको भिडियोमा पनि सचिनको उत्तिकै मेहनत छ । गायनमा उनी जति परिपक्क छन् । अभिनयमा पनि त्यत्तिकै कौशलता देखिएको छ । गीतको भिडियोमा एउटा प्रेमी अनि एउटा अभिभावकको भूमिकामा उनी पूर्ण सार्थक देखिएको छ । सचिनको गीत र उनको अभिनयमा गरिमा शर्मा, राजाराम पौडेल, तुलिका मिस्कीको अभिनयले पनि त्यत्तिकै सघाएको छ ।

गीतको भिडियोलाई निकेश खड्काले निर्देशन गरेका हुन् । जसमा हरि हुमागाईँको छायाँकन, विकाश धमलाले सम्पादन तथा रँग सँयोजन रहेको छ । यो गीत र भिडियोले यतिबेला श्रोता दर्शकबाट राम्रो प्रतिक्रिया पाईरहेको छ ।