धुनिबेसी बहुउदेश्यीय नगर महोत्सबमा नविन, सरितालगायतले नचाए दर्शक


ब्युटी न्युज नेपाल
काठमाडौं, १५ पुस

धादिङको धुनिबेसी नगरपालिकामा एक सातादेखि जारी रहेको ‘धुनिबेसी बहुउदेश्यीय नगर महोत्सब २०८०’ मा शनिबार दर्शकको घुईँचो थियो । अरु दिन झैं शनिबार पनि विभिन्न कलाकारले गायन एवम् नृत्य प्रस्तुत गरेर महोत्सबको रौनक बढाए । शनिबार सो महोत्सबमा केन्द्रिय र स्थानीय गरेर एक दर्जन भन्दा बढी कलाकारहरुले आफ्नो प्रस्तुति दिए ।

महोत्सबमा शनिबार अपरान्ह तिर गायक नविन कुमार पौडेलले आफ्नो चर्चित गीत अठार कट्यौ की कटेनौ… प्रस्तुत गरेका थिए । उनको प्रस्तुतिमा दर्शकले साथ दिएका थिए । यस्तै सोही कार्यक्रममा गायिका सरिता भारतीले आफ्नो चर्चित गीत मेरो दिलको राजा…प्रस्तुत गर्दै दर्शकलाई नचाईन् ।

यस्तै अभिनेता प्रवण भुसालले सो महोत्सबलाई शुभकामना दिएका थिए । अग्रज लोक गायक नवराज ढुँगानाको संयोजनमा सम्पन्न सो महोत्सबको ढुँगानाको प्रस्तुतिमा पनि दर्शक रमेका थिए । महोत्सबको सो सांस्कृतिक कार्यक्रममा ढुँगानाले कार्यक्रमको सांस्कृतिक पक्षबारे जानकारी गराए ।

यस्तै अग्रज गायक बिष्णु खत्रीले आफ्ना चर्चित गीतहरु गाएर दर्शकलाई नचाए । गायक सुवास महतले सञ्चालन गरेको सो सांगीतिक कार्यक्रममा गायक कैलाश कार्की, गायिका सरु गौतमले पनि आफ्ना गीतबाट दर्शकको मन जितेका थिए । मोडल टिका जैशीको नृत्य प्रस्तुति पनि निकै आकर्षक थियो । १६ पुससम्म चल्ने सो महोत्सबमा हरेक दिन गायन, नृत्य, प्रहसन एवम् विविध सांस्कृतिक कार्यक्रम हुने गरेको सांस्कृतिक कार्यक्रम सह संयोजक सिम्रन दुलालले जानकारी गराईन् ।

महोत्सबमा विभिन्न स्टल तथा मनोरञ्जन पूर्ण विभिन्न खेलहरु पनि राखिएको छ । चर्चित गायक गायिकाको गायन एवम् कलाकारको नृत्यमा रमाउँदै, झुलामा झुल्दै दर्शकहरुले महोत्सबमा मनोरञ्जन लिने क्रम जारीरहेको आयोजक धुनिबेसी युवा क्लबले जानकारी गराएको छ ।

तस्बिर : बद्री थापा/ब्युटी न्युज नेपाल