१५ भदौमा नारायण रायमाझीको एकल साँझ हुँदै


ब्युटी न्युज नेपाल
काठमाडौंँ, ५ भदौ

लोकदोहोरी गायक तथा संगीतकार नारायण रायमाझीको एकल गायन साँझ ‘नारायण रायमाझी साङ्गीतिक साँझ–२०८०’ हुने भएको छ । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालले यहि भदौ १५ गते प्रज्ञाप्रतिष्ठान कमलादीमा रायमाझीको एकल साँझ आयोजना गर्न लागेको हो । कार्यक्रममा गायक रायमाझीले आफ्ना लोकप्रिय पुरानादेखि नयाँ दर्जनबढी गीत प्रस्तुत गर्नेछन् । प्रतिष्ठानले पहिलो पटक श्रष्ठाको एकल साँझ आयोजना गर्न लागेको हो ।

सोमबार राजधानीमा एक पत्रकार भेटघाट कार्यक्रम गर्दै प्रतिष्ठानले एकल साँझको बिभिन्न पक्षबारे जानकारी गराएको छ ।

कार्यक्रममा प्रतिष्ठानकी अध्यक्ष रिता थापा मगरले अग्रज कलाकारको सम्मान, लोककला र संस्कृितको संरक्षण गर्ने उद्देश्यका साथ यो बर्षबाट एकल साँझ आयोजना थालेको जानकारी दिइन् ।

‘हामीले अबदेखि हरेक बर्ष एक अग्रज कलाकारको एकल साँझ आयोजना गर्ने उदेश्य राखेका छौ । त्यसै अनुरुप यो बर्ष नारायण रायमाझी एकल साँझ हुन लागेको हो’, थापाले भनिन् ।

कार्यक्रममा गायक तथा संगीतकार रायमाझीले प्रतिष्ठान जस्तो गरिमामय संस्थाले गर्न लागेको पहिलो एकल साँझमा आफु छनोटमा पर्नु भनेको आफ्नो अहोभाग्य भएको बताए । उनले आयोजना हुन लागेको एकल साँझ आफ्नो जीवनकै पहिलो एकल साँझ भएकोले आफ्ना लागि चुनौती र अवसर दुबै रहेको धारणा राखे ।

‘जीवनमा एकल साँझ गरिन्थ्यो, गरिदैन थियो । प्रतिष्ठानले एक अवसर दिएको छ’, रायमाझीले भने ‘कताकता डर, कताकता उत्साह लागि रहेछ । म पनि एउटा नयाँ अनुभव गर्दैछु ।’ जीवनका सुख, दुःखका नयाँ तथा पुराना गीतसंगीत दर्शक समक्ष पोख्ने सुवर्ण अवसरको रुपमा एकलसाँझलाई आफुले लिएको उनले सुनाए ।

‘जीवनमा धेरै गीत गाइयो । कार्यक्रममा सबै गीत प्रस्तुत गर्न सकिदैन होला । सकेसम्म सबै खालका रंगले भरिएका गीतहरु राख्नेछु’, उनले अगाडि थपे ‘अलिकति भावना, अलिकति संस्कृति बोकेका, सबैको मन छोएका, जीवनमा आफुलाई सन्टुष्टि मिलेका जतिसक्दो धेरै गीत राख्ने कोसिस गर्नेछु ।’

दिनको १ देखि ७ बजेसम्म ६ घन्टा चल्ने एकल साँझमा करिब हजारौ दर्शक हुने अपेक्षा आयोजकको छ । प्रज्ञाप्रतिष्ठानको हल भित्र भिआइपीहरुका लागि प्रत्यक्ष हेर्न र सुन्ने ब्यवस्था गरिने र बाहिर चौरमा स्क्रिन मार्फत सर्वसाधारणका लागि हेर्ने र सुन्ने ब्यवस्था हुनेछ । कार्यक्रमको खर्च तिस लाख हुने आयोजकले अनुमान गरेको छ ।

एकल साँझको प्रोमो समेत सार्वजनिक गरिएको कार्यक्रममा प्रतिष्ठानका पुर्व अध्यक्ष तथा संरक्षक दुर्गा रायमाझी, चन्द्र शर्मा, बद्री पंगेनी, राजन लम्साल, उज्वोल जंग ठकुरी, रामचन्द्र कोइराला, आरसी कोइराला, प्रेमराजा महत लगायत थुप्रै ब्यक्तिहरुको सहभागीता रहेको थियो ।