ब्युटी न्युज नेपाल
काठमाडौँ, ५ फागुन
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका नव नियुक्त प्राज्ञ परिषद पदाधिकारी तथा प्राज्ञ सभा सदस्यहरुले आफ्नो पदको सपथ ग्रहण गरेका छन् । बिहिबार प्रतिष्ठानमा कुलपति निशा शर्माले सबैलाई सपथ ग्रहण गराएकी हुन् । प्रधानमन्त्री तथा मन्त्री परिषदको बैठकले बुधबार तीनवटै प्रतिष्ठानको परिषद पदाधिकारी चयन गरेको हो ।
सिफारिस समितिमा रहेका संस्कृतिमन्त्री सुदन किराती, भाषाबिद डा.गोपाल ठाकुर र संगीतकर्मी राकेश राईको सिफारिसमा प्रधानमन्त्री दाहालले नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा नाट्यकर्मी निशा शर्माको नेतृत्वमा नयाँ पदाधिकारी नियुक्त गरेका हुन् । यसरी पहिलो पटक प्रतिष्ठानले महिला कुलपतिको रुपमा नाट्यकर्मी निशा शर्मालाई पाएको छ । बिहिबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालबाट आफ्नो पदको सपथ लिएपछि अपरान्ह प्रतिष्ठानको कार्यालयमा परिषद र सभा सदस्यहरुलाई उनले सपथ ग्रहण गराईन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानमा चार वर्षका लागि निशा शर्मा कुलपति, शम्भु राई उपकुलपति, कुस्मा महरा (प्रगति) सदस्य सचिवमा नियुक्त भएका छन् । यस्तै प्राज्ञ परिषद् सदस्यमा कर्णबहादुर गौतम बखतबहादुर हमाल, डक्टर राई, हिसनकुमार मगर, टीका पुन, चेतन सापकोटा रहेका छन् ।
यसैगरी यस प्रतिष्ठानको प्राज्ञसभा सदस्यमा राधा राई, पुरु लम्साल, विनितकुमार ठाकुर, सुरथ विष्ट, महेश्वर सुनार, कमलमणि नेपाल, दिलबन्धु यादव, कला राई, शान्ति कठायत, हरिप्रसाद पौडेल, सुरोजकुमार मादेन, टीकाराम राई विष्णु मोक्तान, देवकुमार चौधरी र भिषण मुकारुङ राई रहेका छन् ।
सो क्रममा परिषद पदाधिकारी, प्राज्ञ सभा सदस्य र प्रतिष्ठानका कर्मचारीबीच परिचयात्मक कार्यक्रमसँगै पदाधिकारीको कार्य जिम्मेवारी ग्रहण कार्यपनि सम्पन्न भयो ।