नातिकाजी राष्ट्रिय पुरस्कार घोषणा, डब्बु क्षत्री र कुवेर गिरीलाई पत्रकारिता पुरस्कार


ब्युटी न्युज नेपाल
काठमाडौँ, ३ पुस

नातिकाजी राष्ट्रिय सम्मान तथा पुरस्कार–२०७८ बिजेताको नाम घोषणा गरिएको छ । नेपाली सङ्गीतका सिद्धहस्त नातिकाजी श्रेष्ठको ९८ औँ जन्मजयन्तीका अवसरमा आइतबार आयोजित कार्यक्रममा सो सम्मान तथा पुरस्कार घोषणा गरिएको हो ।

यो सम्मान तथा पुरस्कार नेपाली गीत/सङ्गीतका क्षेत्रमा विशिष्ट योगदान पुर्याउने स्रष्टाहरुलाई प्रदान गरिने भएको छ ।

चाबहिल कुटुवहालमा आयोजित कार्यक्रममा नातिकाजी स्मृति समाजका अध्यक्ष शम्भूजीत बासकोटाले पुरस्कार तथा सम्मान घोषणा समारोहमा सबैलाई स्वागत गर्दै यो पुरस्कार तथा सम्मानलाई नातिकाजीको प्रसादको रुपमा ग्रहण गर्न आग्रह गरे । नेपाली संगीतको अघिल्लो पुस्ता र वर्तमान स्रष्टालाई जोड्ने कडीको रुपमा सम्मान र पुरस्कार प्रदान गरिदै आएको पनि उनले बताए । नेपाली संगीतको विकाशमा नातिकाजीको अतुलनीय योगदान रहेको र उनले स्थापना गरेको नेपाली सुगम सँगीतको राजमार्गमै आजसम्म हाम्रो सँगीतको यात्रा जारी रहेको पनि बासकोटाले बताए ।

समाजका उपाध्यक्ष दीपक बिहिनले कार्यक्रममा पुरस्कृत तथा सम्मानितको नाम घोषणा गरे । जस अनुसार ‘नातिकाजी राष्ट्रिय विशेष संगीत सम्मान–२०७८’ मन बहादुर मुखिया, दीप तुलाधर, प्रदीपराज पाण्डे, फणिन्द्र राई, बिके राना, कन्हैया सिंह परियार, शुभ मुकारुङ र अमर बान्तुलाई प्रदान गरिने भएको छ ।

त्यस्तै, सङ्गीतका गुरु चन्दन श्रेष्ठलाई ‘नातिकाजी राष्ट्रिय शास्त्रीय संगीत पुरस्कार–२०७८’ पुरस्कार प्रदान गरिने भएको छ ।

यसैगरी नातिकाजी पत्रकारिता पुरस्कार २०७८ गीतकार समेत रहेका पत्रकार डब्बु क्षत्री र अर्का पत्रकार कुवेर गिरीलाई प्रदान गरिने घोषणा कार्यक्रममा गरियो । जनही ११ हजार रुपैयाँ राशी रहेको यी सबै पुरस्कार तथा सम्मान राष्ट्रपतिबाट चाँडै एक समारोहबीच प्रदान गरिने पनि उपाध्यक्ष दिपक विहिनले बताए ।

उपाध्यक्ष विहिनको अनुसार नातिकाजी राष्ट्रिय संगीत पुरस्कार–२०७८ एकनारायण भण्डारी, काली प्रसाद बासकोटा, राज सिग्देल र माण्डवी त्रिपाठीलाई प्रदान गरिने भएको छ । त्यस्तै, नातिकाजी राष्ट्रिय प्रतिभा पुरस्कार–२०७८ देवेन गिरी, दीपक शर्मा, कृष्ण काफ्ले, र अस्मिता अधिकारीलाई प्रदान गरिने भएको छ ।

नातिकाजी राष्ट्रिय संगीत संयोजक तथा बाद्य पुरस्कार रविन कार्की ढलीलाई र नातिकाजी राष्ट्रिय लोक संगीत पुरस्कार देवी घर्तीलाई प्रदान गरिने संस्थाका उपाध्यक्ष दीपक विहिनले जानकारी दिए । यस्तै, नातिकाजी राष्ट्रिय नवप्रतिभा पुरस्कार–२०७८ आशिष गौतमलाई प्रदान गरिने उपाध्यक्ष विहिनले कार्यक्रममा जानकारी गराए ।

नातिकाजीको ९८ औं जन्म जयन्तीको अबसरमा कार्यक्रममा उपस्थित संगीतकर्मीहरुले नातिकाजीको तस्बिरमा माल्यार्पण गर्दै उनी प्रति श्रद्धासुमन अर्पण गरे । उनीहरुले नेपाली संगीतमा नातिकाजीको योगदानको पनि स्मरण गरे ।