म्यूजिक भिडियोमा सुरक्षा र निराजनको एक्शन


ब्युटी न्युज नेपाल
काठमाडौं, १६ जेठ

नयाँ गीत ‘गन्तव्य’ को भिडियोमा सोमबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यो भिडियोमा अभिनेत्री सुरक्षा पन्त एक्सन अवतारमा प्रस्तुत छिन् । आरके खत्रीको आवाजमा रहेको गीतमा सूर्य अधिकारीको र्याप छ भने मेलोडी म्यूजिक गायक खत्रीले नै दिएका छन् ।

त्यस्तै, गीतमा गायक द्वय खत्री र अधिकारीको शब्द रचना छ । म्यूजिकलाई ठाउँ–ठाउँमा ब्रेक गर्दै भिडियोमा एक्सनलाई प्राथमिकताका साथ स्थान दिइएको छ । भिडियोमा सुरक्षाको अपोजिटमा निराजन प्रधानले अभिनय गरेका छन् । पैसाका लागि गलत काममा होमिएका उनीहरुबीचको प्रेम र पैसाका लागि निराजनले सुरक्षामाथि गर्ने गलत व्यवहारको कथा भिडियोमा देखाइएको छ ।

चलचित्रका निर्देशक समेत रहेका हरी हुमागाईंले भिडियोको निर्देशन गरेका हुन् । भिडियोको कन्सेप्ट पनि उनी स्वयंको हो । शंकर महर्जनले द्वन्द्व निर्देशन गरेको भिडियोमा प्रविन श्रेष्ठको कलर, राजेश शाहको भिएफएक्स र दीपु पौडेलको मेकअप छ । उत्तम हुमागाईं र राजेन्द्र हुमागाईंले छायांकन गरेको भिडियोलाई देवन प्रोडक्सनले निर्माण गरेको हो ।

गीत सार्वजनिक कार्यक्रममा बोल्दै अभिनेत्री पन्तले नेपाली समाजमा देखिरहेकै घटनालाई भिडियोमा उतारिएको बताइन् । उनले भनिन्, ‘जीरो टोलरेन्सको आइडियामा भिडियो बनाएका हौं । एक्सनमा भिडियो बनाउने निर्देशक हरी हुमागाईंको आइडिया मन प¥यो अनि मैले पनि केही सिक्न पाउछु भन्ने लोभले काम गरेको हुँ ।’ उनले निराजनसँग लामो समयपछि काम गर्न पाएकोमा खुशी व्यक्त गरिन् ।

गायक खत्रीले भिडियोले गीतलाई न्याय गरेकोमा खुशी व्यक्त गरे । अन्याय र अत्याचारको विरुद्धमा महिलाहरु बलियो भएर अगाडि बढ्नु पर्छ भन्ने सन्देश भिडियोले दिने उनले बताए ।

त्यस्तै, निर्देशक हुमागाईंले म्यूजिक भिडियोमा एक्सन सिक्वेन्स राख्न चुनौतीपूर्ण भए पनि आफूहरुले इमानदार प्रयास गरिएको बताए । सुरक्षाले तीन दिन एक्सन तालिम लिएर भिडियोमा एक्सन सिन दिएको उनको भनाई छ । एकै शैलीका म्यूजिक भिडियो बनिरहेको अवस्थामा केही पृथक गर्ने सोचले भिडियोलाई एक्सन शैलीमा तयार पारिएको उनी बताउँछन् ।