गौरीले भनिन्,‘आकाश तिर थुक्दा मुखमै पर्छ’


ब्युटी न्युज नेपाल
काठमाडौं, २६ साउन,

केही मिडियाले नेपाली चलचित्रका अभिनेत्रीलाई मानहानी हुनेगरी बोलेको भन्दै अभिनेत्री गौरी मल्लले त्यसको टिप्पणी गरेकी छिन् । शारीरिक बनौट र रुपरँगको आधारमा कसैको पनि टिप्पणी गर्नु पत्रकारिताको आचारसहिता विपरित भएको चर्चा चलिरहेको बेला अभिनेत्री गौरी मल्लले यस बिषयमा यस्तो लेखेकी छिन् ।

‘मानिसको स्वभाव उसको व्यक्तित्वको ऐना हो। ’
मैले कसैलाई सिकाउने या उपदेश दिने हैशियत छैन र त्यो मेरो काम पनि हैन तर आफुले येत्रो समय अर्पण गरेको र आफ्नो लागि पुजा योग्य मानेको क्षत्रमा अनावश्यक चर्चा परिचर्चा चलिरहदा कताकता दुख्दो भने रहेछ।
लकडाउन भए देखि फेसबुकमा देखिएकी थिइन , कारण कुनै ठुलो पनि हैन आफु संग के हि समय हराउन चाहिरहेकी थिएँ। तर आज आफुलाई बाध्य पाइरहेकी छु कि दुखि मनले केहि लेखुं।

मैले कहीं पढेकी थिएँ बलिउडकी एक अत्ति नै प्रतिभाशाली अभिनेत्री जो आफ्नो करियरको शुरुका दिनहरुमा क्यामेराको सामु , हास्दा आफ्नो मुख छोपेर अथवा आफ्नो दांतलाइ नदेखिने गरेर हान्स्थिन किनकि उनको नजरमा उनिको दांत अन्य अभिनेतृहरुका भन्दा अलिकति बाहिर निस्केका थिए । त्यो कुरालाई तेसताका का चर्चित निर्देशक महेश भट्टले नोटिस गरेका रहेछन। उनले सो अभिनेत्रीलाई बोलाएर भनेछन ’ तिमी जुन कुरालाई आफ्नो कमजोरी ठानेर लुकाउने प्रयास गरिरहेकी छ्येउ त्यो नै तिम्रो सुन्दरताको राज हो। तेसैले आइन्दा आफ्नो हाँसो लाइ लुकाएर हैन खुलेर हाँस्नु। ’ तेसदीन देखि ती प्रतिभावान अभिनेत्रीले आफ्नो हाँसोलाई संकोचको पर्खाल बाट बाहिर निकालिदिइन र खुलेर अभिनय गर्न लागिन। ती अभिनेत्री थिइन भारतीय चलचित्र जगतकी महान अभिनेत्री शबाना आजमी।

प्रतिभालाई कहिले पनि सुन्दरताको आवश्यकता पर्दैन तर सुन्दरतालाइ प्रतिभा को आवश्यकता अवश्य पर्दछ।

हाम्रो समाजमा येस्ता उदाहरण कैयन छन्। आज भन्दा ३०र३१ बर्ष अघि निर्देशक प्रकाश थापा , निर्माता भगवान दास श्रेष्ठले यो साधारण कदकाठी र साधारण अनुहार भएको एउटा केटीलाई विस्वास नगरेको भए गौरी मल्ल भन्ने मान्छेको पनि कलाकारको रुपमा परिचय बन्ने थिएन होला तर मलाई मेरा निर्देशक ,सहकर्मी ,साथीभाई एबम दर्शक तथा पत्रकार , सबैबाट प्रेरणा मिल्दै गयो। मेरो रुप या कदकाठी लाइ लिएर हिनताबोध हुने चर्चा भएनन्।

हामी अरुको गल्ति चाहिं छिटै र सहज रुपमा उजागर गरिदिन्छौं तर त्येही काम अरुबाट भयो भने सहन गाह्रो मान्छौं ।

हामी २र३ दशक देखि अलिअलि भए पनि केहि सिकेर आएका हामीले आजका पुस्तालाई माया दिएर हुर्काउने हो ,आफ्नो अनुभव साट्ने हो ,प्रोत्साहन गर्ने हो, न कि उनीहरुलाई फक्रिने पनि मौका नदिइ निरुत्साह बनाउने।
समय बदलिसकिएको छ त्यसैले हामी पनि बदलिनु समयको माग हो । युवाहरुसंग हिंड्नु छ भने हात हालेर हैन हातेमालो गरेर हिंड्न आवश्यक छ । मैले आकाश तिर हेरेर थुकें भने त्यो पक्कै पनि मेरै मुखमा पर्छ।

सबैको जय होस् !!!’