ब्युटी न्युज नेपाल
काठमाडौं ३० फागुन
धुर्मुस सुन्तली फाउण्डेसनको अभियानमा निर्माण कार्य थालनी गरिएको गौतम वुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निमार्ण स्थलको प्रारम्भिक कार्य सुरु भएको छ ।
यो अभियानका अभियान्ता एवम् हाँस्यब्याँग्य कलाकार सिताराम कट्टेल (धुर्मुस) र कुञ्जन घिमिरे (सुन्तली) आफैं मजदुरको रुपमा उत्रिएका छन् । यी दुईले रंगशालाको प्रारम्भिक कार्यका लागि मँगलरबार र बुधबार दुई दिन श्रमदान गरेका छन् । श्रमदानको क्रममा बालुवा बोक्ने, मसला बनाउने, जस्तापाता बोक्ने जस्ता कार्यमा उनीहरु दिनभर तल्ल्नि देखिए ।
निर्माण स्थललाई जस्ताले घेरिएको छ । अहिले प्रारम्भिक चरणको काम भईरहेको छ । भरतपुर महानगरपालिका वडा नं १५ शान्तिचोकमा निर्माणाधीन रंगशाला बनाउने चटारोले ‘धुर्मुस’ र ‘सुन्तली’ लाई भ्याईनभ्याई छ । सामान भण्डार गर्ने भवन, स्टोर र कर्मचारीहरुका लागि आबास निर्माणको काम गरेका थिए । निमार्ण स्थल पुगेका धुर्मुस देखेर कामदार समेत रमाए ।
उनीहरुले स्थानीयलाई रंगशाला निमार्ण सबै नेपालीको सपना भएको भन्दै आफ्नो स्थानबाट सबै लाग्न आग्रह पनि गरे । आर्थिक सहयोग गर्न नसके पनि श्रमदान गर्न सकिने भन्दै स्थानीयलाई सक्रियता बढाउन आग्रह गरेका उनिहरु आफै कार्यक्षेत्रमा खटिएर श्रमदान समेत गरिरहेका थिए ।
निमार्ण स्थलमा विभिन्न संघसंस्थाले श्रमदान समेत गर्न थालेका छन् । रंगशालाको गुरूयोजना र डिजाइनको काम अगाडी बढेको धुर्मुस सुन्तली फाउण्डेशनका अध्यक्ष कट्टेलले बताए । उनका अनुसार अहिलेसम्म साढे पाँच करोड सहयोग संकलन भएको छ । उनले शिलान्यास गरेको दुई वर्षमा रंगशाला निर्माण हुने बताएका छन् ।
तीन करोड नेपालीहरुको सहयोगलेनै रंगशाला निर्माण हुने भन्दै सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न धुर्मुसले आग्रह गरे । ‘एउटा साधारण व्यक्तिले देखेको सपनाहो यो, त्यसैले सबै मिलेर सपना साकार पार्ने हो’, उनले भने,‘यो देश बिकासकालागि सबै एक हुने समय आएको छ । अब देश बनाउने समय हो राजनैतिक मुद्धाका आन्दोलन सकिए पछि अब बिकासको आन्दोलनमा सबै सहभागि हुन जरुरी छ ।’