ब्युटी न्युज नेपाल
चितवन, २६ माघ
कर्मी नाट्य समूहसँगको सहकार्यमा अराजक अक्षर समूह चितवनले शनिबार नारायणगढमा काव्य मेलाको आठौं श्रृङ्खला सम्पन्न गरेको छ । आठौं श्रृङ्खलामा कवि फूलमान वल र रञ्जना लिम्बुलाई स्रोता÷दर्शक माँझ प्रस्तुत भए । दुवैले दुई दर्जन कविता सुनाए ।
‘तिमीले नकाटी दिएको भए चोभारको डाँडोबाट मलाई
नबनाइ दिएको भए धारिलो गल्छेँडो,
म त यही तलाउ जमेर,
फूली रहेको हुन्थे सायद कमलको फूल’
वलले यसरी ‘बागमतीको आत्मालाप’बाट कविता सुनाउन सुरु गरेर ‘बाँदरको अपिल’मा पुगेर बाचनको क्रम टुङ्ग्याए । त्योबीचमा ‘भ्यालेन्टाइन डेको जुन’, इन्द्रणी गीत, न्युज, शितलहर, आजका मान्छे, भुइँचालो, महाभारतकी मैच्याङ, बुद्धसँग जम्काभेट, दोस्रो जुनी, खरानी भित्र, दशैं आयो, ‘काठमाडौं विरुद्ध’ जस्ता कविता सुनाए ।
कथा र नाटकमा समेत कलम चलाउने वलका कवितामा तामाङ समुदायको मौलिक विम्व र प्रतीकको प्रचुरता थियो । विषयगत हिसाबले पनि उनी तामाङ समुदायकै सांस्कृतिक र ऐतिहासिकतामा बढि केन्द्रित भए । त्यसबाहेक प्रेम, मानवता र समाजमा आधुनिक बजारले पारेको प्रभावप्रति उनले व्यंग्य कसे ।
त्यसअघि रञ्जना लिम्बुले आठ कविता सुनाएकी थिइन् । घडी, मैले बोल्दा यो देशको नक्सा हल्लिन्छ, घुम्ती निरको चीया पसल, गुनासो, शौचालय आदाम्बे जस्ता कविता सुनाएकी रञ्जनाले पहिचानको मुद्दा र नारीका समस्यालाई आफ्ना रचनामा समेटेकी थिइन् ।
‘त्यहाँ कसैले कसैलाई थुकी रहेका थिएनन्
त्यहाँ कसैले कसैलाई छि छि गरेका थिएनन्
र त मन्दिर, मस्जिद, चर्च र गुम्बाहरुबाट,
बसाइ सरेर अचेल शौचालयमा बसी रहेका छन् ’
यो शौचालय कविता मानवीय भावनाबाट प्रेरित थियो । मान्छेको बिचारबाटै इश्वर उदाएको र मन्दिर, मस्जिद, चर्च गुम्बा बनेको तर इश्वर बस्ने यी स्थानलाई एक अर्काले अस्वीकार गरेको भाव कवितामा थियो ।
रंगमञ्चसँग साहित्यलाई जोड्दै तीन बर्ष अघि शुरु काव्यमेलामा मुलुकका विभिन्न भेकका स्रष्टाहरुलाई प्रस्तुत गर्दै आएको अराजक अक्षर समुहका अध्यक्ष मुकुन्द खलपात्रले कार्यक्रममा जनाए ।
कवि सरिता तिवारीले कवितामाथि टिप्पणी गर्दै दुवैले आफ्ना कवितामा पहिचानका मुद्दालाई बैचारिक र कलात्मक रुपमा पस्केको बताइन् । ‘समाकालिन चेतनालाई हस्तक्षेप गर्न सक्ने रचना सुन्न पाइयो । उहाँहरुले उठाएका विषयमा र रचनामा रौं रौंको अनुभूति छन्’ तिवारीको भनाइ थियो ।